भद्रपुरका ८४ किसानलाई कृषि औजार वितरण
Published:
by .झापा । झापाको कृषि ज्ञान केन्द्र भद्रपुरले ८४ जना किसानलाई कृषि औजार वितरण गरेको छ ।
धान र मकै सुपर जोन घोषित झापामा लागत कम गरी उत्पादन बढाउने उद्देश्यले संघीय तथा प्रदेश सरकारको कृषि यान्त्रीकरणका लागि औजार उपकरण, प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि ज्ञान केन्द्रले ५० देखि ७५ प्रतिशत अनुदानमा औजार वितरण गरेको हो ।
केन्द्रमा आइतबार आयोजित कार्यक्रमका प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर राना मगरले औजार हस्तान्तरण गरेका हुन् ।
सरकारले दिएको अनुदानको सामग्रीलाई सदुपयोग गरी उत्पादन वृद्धि गराउनतर्फ लाग्न किसानहरूलाई उनले आग्रह गरे । संघीय सरकारको मकै उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत झापा गाउँपालिकाको मार्सल कृषि सहकारी संस्था र कुमरखोद साना किसान कृषि सहकारी संस्थालाई एक/एक थान मकै डायर मेसिन अनुदानमा उपलब्ध गराएको कृषि ज्ञान केन्द्रका प्रमुख नीलकमल सिंहले जानकारी दिए ।
दुईवटा मेसिन १७ लाख ६५ हजारमा खरिद गरिएकोमा कृषि ज्ञान केन्द्रले सात लाख ५० हजार, झापा गाउँपालिकाले २ लाख र उपभोक्ताले ८ लाख १५ हजार रकम दिएको उनले बताए । मकै डायर मेसिनले न्यूनतम १० ब्याच प्रतिदिन २५ मेटिक टन मकै सुकाउन सकिन्छ । त्यस्तै‚ प्रदेश सरकारको कृषि यान्त्रीकरण प्रयोग प्रवर्द्धन कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ९० लाख बजेट विनियोजन गरिएको थियो ।
विनियोजित रकममध्येबाट १२ वटा मिनिटिलर, १० वटा अल्टिक्रम थ्रेसर, आठवटा रोटामटर, २८ वटा पावर टिलर, १३ वटा स्वचलित टिपर, चारवटा मेजर टेलर, दुईवटा डिस्क होरै, एउटा पावर टिलर एटेचमेन्ड रिपर, तीनवटा ब्रस कट्टर र एउटा पावर स्प्रे गरी उक्त सामग्री ७३ लाख ६५ हजार १२५ रुपैयाँमा खरिद गरिएको केन्द्र प्रमुख सिंहले बताए ।
Comments