Sajhamanch Archive

अर्जुनधारा मन्दिर साउनमा खुल्ला नहुने

Published: in समाज, स्थानीय तह by .

झापा । कोरोना महामारीको संक्रमणदर कायम नै भएकाले सरकारले लगाएको निषेधाज्ञा केही मात्रामा खुकुलो भए पनि झापाको प्रसिद्ध अर्जुनधारा जलेश्वरधाम यसपालि साउने पर्वमा नखुल्ने भएको छ ।

साउन महिनाको सोमबार हिन्दू नारीले मनोकामना पूर्ण होस् भन्दै शिवालयमा जल चढाउने परम्परा रहेको छ । झापामा निषेधाज्ञा जारी रहेको हुँदा मन्दिर खुला नहुने धाम व्यवस्थापन समितिले जनाएको छ ।

साउन महिनामा पहेँलो र हरियो रङका चुरा, मेहन्दीलगाएर शिवजीको पूजा आराधना गर्दा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । पूर्वको पशुपतिनाथको नामले परिचत अर्जुनधारा जलेश्वरधाममा विगगका वर्षमा साउन महिनाको सोमबार जल चढाउने भक्तजनको घुइँचो लाग्ने गर्दथ्यो ।

गत वर्ष पनि कोभिड १९ को तीव्र लहरका कारण धाम खुलाइएको थिएन । मूलढोका नखुल्दा भक्तजनले मन्दिर बाहिरबाट नै फूल र प्रसाद अर्पण गरेर शिवको पूजा आराधना गरेका थिए । यसपालि पनि बिहान नित्य पूजाको समयबाहेक मन्दिर नखुल्ने समितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

सोमबारे जल चढाउन र शिवको पूजा आराधना गर्न पूर्वी नेपालका विभिन्न स्थानदेखि भारतको सिलीगुढी, दार्जिलिङ, सिक्किमलगायतका ठाउँबाट हजारौँ भक्तजन अर्जुनधारा आउने गरेका थिए । यहाँ आउने भक्तजनको सुरक्षा र व्यवस्थापनका लागि सुरक्षाकर्मीको समेत व्यवस्था हुने गरेको थियो ।

कोभिड–१९ को सङ्क्रमण बढेसँगै मठमन्दिर, सभा समारोहलगायतका सम्पूर्ण कार्यक्रम सरकारले स्थगित गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले गत वैशाख २१ गतेदेखि नै पटकपटक निषेधाज्ञा जारी गर्दै आएको छ ।

निषेधाज्ञा अवधिमा अर्जुनधाराको मूल मन्दिर बिहान ५ बजेदेखि ७ः३० बजेसम्म नित्य पूजाका लागि मात्र खुल्ने गरेको जोशीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *