Sajhamanch Archive

प्रदेश २ को प्रदेशसभा बैठक अझै बस्न सकेन

Published: in प्रदेश तह, राजनीति by .

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक सोमबार दिउँसो १ बजेका लागि बोलाइए पनि अझै सुरु हुन सकेको छैन । आइतबार प्रतिपक्षी दलका सांसदले अवरुद्ध गरेपछि सभामुख सरोज कुमार यादवले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

विपक्षी दलहरू नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सरकारले ल्याएको बजेटमा संशोधन गरिनुपर्ने माग राख्दै आएका छन् । सरकारले उनीहरूसँग छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।

प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले विपक्षी दलसँग सहमति हुन नसकेपछि बैठक आज साँझ ५ बजे बोलाइएको जानकारी दिए । उनका अनुसार सबै सांसदलाई एसएमएसमार्फत जानकारी दिइएको छ ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक दिलिप कुमार साहले सरकारसँग छलफल भइरहेको जानकारी दिए । छलफलमा सरकारका तर्फबाट मुख्यमन्त्री लालबाबु राउत र आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव सहभागी छन् । तीन घण्टादेखि जारी बैठकमा सहमति हुन सकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *