Sajhamanch Archive

तुम्वापो परिवारमा सिम्रिकको अभिभावकत्व

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

शिवसताक्षी । सहकारी संस्थाहरुले सदस्यसँग वित्तीय कारोबार गरेर मुनाफा आर्जन मात्र गर्दैनन्, तिनको अभिभावकत्व पनि लिन अग्रसर छन् भन्ने उदाहरण सिम्रिक साकोसले पेश गरेको छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्य राजेन्द्रप्रसाद तुम्वापो गत वैशाखबाट प्यारालाइसिस भई थलिएपछि संस्थाले सदस्य राहत नीतिअनुसार अभिभावकत्व लिएको हो ।

तुम्वापोले गत वर्ष लिएको कर्जा एक लाख रुपैयाँमध्ये सावाँ ब्याज भुक्तानी गर्न बाँकी रहेको ७८ हजार २४० रुपैयाँ संस्थाले मिनाहा गरिदिएको छ । तुम्वापाले आफ्नो उपचारमा उक्त रकम खर्च गर्न सकुन् भनी संस्थाले कर्जा मिनाहा गरिदिएको जनाइएको छ ।

यस्तै संस्थाले यही भदौ महिनाबाट लागू हुनेगरी शेयर सदस्य तुम्वापोको जीवनकालभर हरेक महिना एक हजार रुपैयाँ राहत सहयोग प्रदान गर्ने पनि घोषणा गरेको छ ।

संस्थाका अध्यक्ष कमलबहादुर बस्नेत, उपाध्यक्ष किरण कपुरी, सचिव सुवास भट्टराई, कोषाध्यक्ष हरिप्रसाद कँडरिया, विभागीय प्रमुखहरु मिनबहादुर अधिकारी र विजय बस्नेतसहितको टोली आज माइधारस्थित तुम्वापोको निवासमा नै पुगेर यस्तो सराहनीय कार्यको थालनी गरेका हुन् ।

कर्जा मिनाहा तथा राहत घोषणा सम्बन्धी संक्षिप्त कार्यक्रममार्फत् शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले तुम्वापोको कर्जा मिनाहा सम्बन्धी पत्र हस्तान्तरण गरेका थिए ।

वडा नं. १० का वडाध्यक्ष कर्णबहादुर थापा र वडा सदस्यहरुको विशेष उपस्थितिमा नगरप्रमुख शेर्माले वडाबाट राहत सिफारिस भइआएमा नगरपालिकाको नीतिअनुसार १० हजार रुपैयाँ तत्कालै प्रदान गर्ने बचन दिए ।

उनले सहकारीलाई बुझ्न सिम्रिकको रचनात्मक अभियान उदाहरणीय भएको भन्दै सहकारीमा सदस्य बनेपछि अभिभावकत्व पाइन्छ भन्ने महसुस गराएको बताए ।

शिवसताक्षी नगरपालिकामा केही समय पहिलेदेखिमात्रै सिम्रिकले सेवा केन्द्र विस्तार गरेको छ ।

संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको कर्जा मिनाहा तथा राहत घोषणा कार्यक्रममा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले सदस्यलाई राहत प्रदान गर्न खडा गरिएको कोषमा एक करोड रुपैयाँभन्दा बढी बचत रहेको जानकारी दिए ।

संस्थाका कुनै पनि सदस्य बिरामी परेमा उपचार सहयोग गर्ने, मृत्यु भएमा राहत प्रदान गर्ने चलन पुरानै भए पनि प्यारालाइसिस भएर सदस्य असक्त भएमा दिन थालिएको राहत यो नै पहिलो भएको जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *