हल्दिबारीका गाउँपालिकाका अध्यक्ष लिङ्देनले यसरी मनाए आफ्नो जन्मदिन
Published:
by .हल्दिबारी । हरेक वर्ष आउने आफ्नो जन्मदिनलाई तपाईं कसरी स्मरणीय बनाउनु हुन्छ ? कतिपयले ठूला होटलमा साथीभाइ भेला गरेर केक काट्तै स्याम्पेन र ह्ेवीस्कीमा मनोरञ्जन गर्नुहोला । कतिले मिठाई बाँडेर शुभकामना लिनुहोला भने कतिले चाहिँ फलफूलका विरुवा रोप्नु होला । जन्म दिनलाई हरेक मानिसले यसरी नै केही न केही गरेर सम्झन लायक बनाउने गरेका छन् ।
माथि उल्लेखितभन्दा पृथक कार्यगरी झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले आज आफ्नो जन्मदिन मनाएका छन् । गाउँपालिकाको अध्यक्ष विजयी भएर जिम्मेवारी सम्हालेपछि जनअपेक्षा अनुसारका कामहरु गर्दै जिम्मेवार जनप्रतिनिधिका रुपमा आफूलाई उभ्याएका लिङ्देनले जन्मदिनको अवसरमा पनि गरिव तथा विपन्न परिवारको मल्हमपट्टी गर्न रुचाएका छन् ।
साझामञ्चसँग कुरा गर्दै गाउँपालिका अध्यक्ष लिङ्देनले भने, ‘मेरो जन्मदिनमा मैले आज विपन्न र दीनहीनहरुसँग बिताउँदैछु । हल्दिबारीका पाँचवटा वडाका पाँच अति विपन्न परिवारमा पुगेर स्वास्थ्य बीमामा सहभागी गराउँदैछु । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुन नसकेका पाँचवटा परिवार छानेर प्रति परिवार ३ हजार ५०० रुपैयाँका दरले स्वास्थ्य बीमा गरिदिँदैछु । अहिलेसम्म दुईवटा परिवारसँग भेट गरेर प्रक्रिया पूरा गरेको छु, बाँकी भोलि पनि गर्नेछु ।’
‘जन्म दिनको दिन आज हल्दिबारी गाउँपालिका वडा नं. ३ का अति बिपन्न परिवारका २ घरका १० जनाका लागि ब्यक्तिगत खर्चबाट स्वास्थ्य बीमा गरिदिएको छु । मेरो यस कार्यले अरुले पनि जन्मदिन मनाउन सम्बन्धमा केही सिकुन् भन्ने अपेक्षा राखेको छु’ लिङ्देनले भनेका छन् ।
उनका अनुसार साउन ६ गते वडा नं. ३ का किस्कु परिवार र माझी परिवारको स्वास्थ्य बीमा गरिदिइएको छ ।
गाउँपालिका अध्यक्षको यस्तो रचनात्मक अभ्यासले पालिकाबासीमा पनि स्वास्थ्य सचेतना फैलने तथा जनताका प्रतिनिधिहरुमा पनि चेतना जागृत गराउन मद्धत पुग्ने उनको विश्वास छ ।
Comments