Sajhamanch Archive

मोरङका उद्योगीले अर्थमन्त्रीलाई भेटेर मौद्रिक नीतिमा दिए २१ बुँदे सुझाव

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

विराटनगर । मोरङ व्यापार संघका पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरी मौद्रिक नीतिमा समेट्नुपर्ने २१ बँदे सुझाव पेस गरेका छन् ।

संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा काठमाडौं पुगेको उद्योगी–व्यापारीहरुको टोलीले सरकारलाई सुझाव दिएको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटघाट गरी टोलीले कोरोनाबाट रुग्ण भएको उद्योग तथा व्यापार क्षेत्रलाई उकास्ने र राहत दिने गरी मौद्रिक नीति ल्याउन सुझाव दिएको अध्यक्ष मुन्दडाले बताए ।

संघले कोभिड–१९ को प्रभावका कारण सबै ऋणीहरुको ब्याज मिनाहा गरिनुपर्ने एवं निजहरुको कर्जा भुक्तानी गर्ने म्याद थप गरिनुपर्ने, हाल कायम रहेको बैंकिङ क्षेत्रको स्प्रेडदरलाई अधिकतम् ३.५ प्रतिशत कायम गरिनुपर्ने, क्रेडिट रेटिङको सम्बन्धमा पब्लिक लिमिटेड कम्पनीहरुको हकमा ५० करोडकै सीमा र प्राइभेट कम्पनीहरुको हकमा २०० करोडको सीमा निर्धारण गरिनुपर्ने, उद्योगी–व्यवसायीहरुका लागि कर्जा, पुनर्कर्जा लिने प्रक्रियालाई सरलीकृत र सर्वसुलभ पहुँचको व्यवस्था गरिनुपर्ने एवं पुनर्कर्जाका व्यवस्थाहरुलाई सशक्त रुपले कार्यान्वयनमा ल्याइनुपर्नेलगायत माग गरिएको छ ।

अध्यक्ष मुन्दडाले भने, “अर्थमन्त्रीज्यूले संघका तर्फबाट प्राप्त भएको सुझावलाई गम्भीर रुपमा लिइने र यसलाई नीति निर्माण बनाइँदा समावेश गरिने आश्वास दिनुभएको छ ।” कोरोनाको दोस्रो लहरका कारण उद्योग–व्यवसायमा नराम्रो असर पुगेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *