ओलम्पिक लेखन प्रतियोगितामा नमिन ढकालले जिते ११ हजार, धितालको निधनमा शोक पस्ताव
Published:
by .बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाको संयोजनमा सञ्चालित ओलम्पिक खेलबारेको प्रदेश स्तरीय लेखन प्रतियोगितामा इलामका पत्रकार नमिन ढकाल प्रथम भएका छन् ।
स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ को वित्तीय सहयोगमा महासंघले ओलम्पिक दिवस २०२१ जुन २३ को अवसरमा प्रदेश स्तरीय लेख तथा समाचार लेखन प्रतियोगिता सञ्चालन गरेको थियो ।
प्रतियोगितामा इलामका ढकाललाई ११ हजार रुपैयाँ, द्वितीय हुने ताप्लेजुङका खगेन्द्र अधिकारीलाई सात हजार रुपैयाँ, तृतीय हुने झापाका हिमालचन्द्र खरेललाई पाँच हजार रुपैयाँ र सान्त्वना पुरस्कार पाँचथरका भीम बाँस्कोटालाई तीन हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा महासंघको बिर्तामोडस्थित कार्यालयमा भएको कार्यक्रममा स्पोर्टस् फर अल कमिशन नेपाल प्रदेश १ का संयोजक तथा बिर्तामोड नगरपालिका–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्य रहेको थियो ।
सोही अवसरमा पत्रकार महासंघ प्रदेश १ समितिले प्रदेश सरकारको सहयोगमा सञ्चालन गरेको लेखनवृत्तिमा सहभागी पत्रकारहरुलाई प्रोत्साहन रकम पनि प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सिटौलाले पत्रकारिता क्षेत्रबाट खेलकुदको समग्र विकासमा टेवा पुर्याउन र खेलकुद पत्रकारिता विधामा कलम चलाउने पत्रकारलाई प्रोत्साहित गर्न यस्तो अभ्यासको थालनी गरिएको बताए । उनले पत्रकार महासंघ झापाको साझेदारीमा पुरस्कारको राशी वृद्धि गरी आगामी वर्ष पनि उक्त कार्यलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएका छन् ।
कोरोना संक्रमण भई हाल स्वास्थ्य लाभ गरेका झापाका १३ जना पत्रकारलाई महासंघ झापा शाखाको सिफारिसमा महासंघ प्रदेश समितिले लेखनवृत्ति प्रदान गरेको थियो । कोरोनाबारे सचेतना जगाउने तथा कोरोना संक्रमण नियन्त्रणमा स्थानीय तथा प्रदेश सरकारले निर्वाह गरेको सकारात्मक भूमिकाबारे आह्वान गरिएको लेखनवृत्तिमा सहभागीहरुलाई प्रोत्साहन स्वरुप जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।
लेखनवृत्तिमा सहभागी झापाका पत्रकारहरु भीमा शिवाकोटी, गोपाल काफ्ले, नरेन्द्र ढकाल, राजु अधिकारी, दीपेन्द्र पौडेल, तुलसी निरौला, गौरव पोखरेल, सन्तोष आचार्य, सुव्रत न्यौपाने, पुष्प बराल, विष्णु पौडेल, अनिता भेटवाल र सन्तोष न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो ।
कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश १ का सञ्चालक समिति सदस्य गोपाल काफ्लेले महासंघले सञ्चालन गरेको लेखनवृत्ति कार्यले पत्रकारिता क्षेत्रमा क्रियाशीलता बढ्ने बताउँदै चालू वर्षमा प्रतिष्ठानले पनि लेखनवृत्ति सञ्चालन गर्ने जानकारी गराए । ‘अब छिट्टै बोर्डको बैठक बसेर लेखनवृत्तिका लागि प्रस्ताव आव्हान गर्नेछौं’ बोर्डका सदस्य काफुले भने, ‘खुल्ला प्रतिष्पर्धामा छानिएका पत्रकारहरुले लेखनवत्तिको अवसर पाउने व्यवस्था मिलाइएको छ । यस्तो कार्यक्रम वर्षमा चार पटक गरिने तय भएको छ ।’
सो अवसरमा नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीले शुभकामना व्यक्त गर्दै महासंघको नयाँ नेतृत्वले निर्वाह गरिरहेको अभिभावकीय र संस्थागत भूमिकाप्रति धन्यवाद ज्ञापन गरिन् ।
महासंघका उपाध्यक्ष केशव भट्टराईले स्वागत, उपाध्यक्ष सुशिला संग्रौलाले धन्यवाद ज्ञापन, सचिव डिकेश लामाले सञ्चालन गरेको कार्यक्रममा लेखन प्रतियोगितामा उत्कृष्टहरुको नाम घोषणा सहसचिव तथा सो कार्यक्रमका संयोजक अर्जुन राजवंशीले गरेका थिए ।
यसैबीच, महासंघ झापा शाखाका सदस्य केशवराज धितालको गएराति पौने ९ बजे भएको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको आत्माको शान्तिका लागि श्रद्धाञ्जलि अर्पण गरिएको छ । महासंघको आज बसेको बैठकले स्वर्गीय धितालको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको जनाइएको छ ।
Comments