Sajhamanch Archive

झापाका ठूला नदीहरुमा यसवर्ष १६ किलो मिटरभन्दा बढी तटबन्ध निर्माण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by .

कमल । जनताको तटबन्ध कार्यालय झापाले यसवर्ष जिल्लाका ठूला नदीहरुमा १६ किलोमिटरभन्दा बढी तटबन्ध गरेको छ । मेची, बिरिङ्ग, कनकाई, कमल, रतुवा र मावमा पक्की तथा माटोको गरी १६ हजार ९७३ मिटर तटबन्ध गरिएको छ । सो दूरीमा ६७ वटा स्पर पनि निर्माण गरिएको जनताको तटबन्ध कार्यालय झापाका प्रमुख रुपनारायण अधिकारीले जानकारी दिएका छन् ।

तटबन्द निर्माण भएपछि नदी किनारामा रहेका ३ हजार ७२४ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् भने १७ हजार ३४० जनता लाभान्वित भएका छन् । जनताको तटबन्ध कार्यालय झापाका प्रमुख अधिकारीका अनुसार तटबन्ध निर्माण पछि २२७ हेक्टरभन्दा बढी जग्गा उकास भएको छ ।

तटबन्ध गरिएका नदीहरुमध्ये मेचीमा १ हजार २२७ मिटर पक्की र ३०० मिटर माटोको तटबन्धका साथै १५ वटा स्पर निर्माण गरिएको छ । जसबाट ८ हेक्टर जमिन उकास भएको छ भने ४९० घरधुरी र १ हजार ९६० जनसंख्या लाभान्वित भएको जनाइएको छ ।

त्यसैगरी विरिङ्ग नदीमा २ हजार ३५२ मिटर पक्की र ७९४ मिटर माटोको तटबन्ध गर्नुका साथै १५ वटा स्पर निर्माण गरिएको छ । जसबाट ३१ हेक्टर जमिन उकास हुनुका साथै २ हजार ४३५ घरधुरी र ११ हजार ७५० जनसंख्या लाभान्वित भएको कार्यालय प्रमुख अधिकारीले बताए ।

कनकाई नदीमा आउने बाढीबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नदी किनारमा २ हजार ८३७ मिटर पक्की र ५५९ मिटर माटोको तटबन्ध निर्माण गरिएको छ । १६ वटा स्पर निर्माण गरिएको सो नदीमा तटबन्धबाट १०८ हेक्टर जमिन उकास भएको तथा ३५१ घरधुरी र १ हजार ६६९ जनसंख्या लाभान्वित भएका छन् ।

कार्यालयका अनुसार कमल नदीमा २ हजार ४१० मिटर पक्की र १ हजार ७२० मिटर माटोको तटबन्ध निर्माण गरिएको छ भने १२ वटा स्पर निर्माण गरिएको छ । जसबाट ४५ दशमलव ५० हेक्टर जमिन उकास भएको छ ८४ घरधुरीका ४१६ जना लाभान्वित भएका छन् ।

कार्यालयले रतुवा र मावा नदी अन्तर्गत मोरङ्गतर्फ ५९८ मिटर पक्की तटबन्ध गरेको छ भने एउटा स्पर निर्माण गरिएको छ । जसबाट ७ हेक्टर जमिन उकास भएको तथा ६३ घरधुरीका २६० जना लाभान्वित भएका छन् । त्यसैगरी सोही नदीको झापातर्फ २ हजार ३० दशमलव ५० मिटर पक्की र ६०० मिटर माटोको तटबन्ध गरिएको छ । २२ हेक्टर जमिन उकास भएको सो तटबन्ध पछि १७६ घरधुरीका ७८५ जनसंख्या लाभान्वित भएको कार्यालयले जनाएको छ ।

जनताको तटबन्ध कार्यालयले जोखिमयुक्त जिल्ला अन्तर्गत सदरमुकाम भद्रपुर नगरपालिकामा मेची नदीले गर्ने क्षतीलाई न्यूनीक।ण गर्ने उद्देश्यका साथ ८८४ मिटर पक्की र ६६१ मिटर माटोको तटबन्ध गरेको छ भने ७ वटा स्पर निर्माण गरिएको छ । जसबाट ६ हेक्टर जमिन उकास भएको छ । यसबाट १२५ घरधुरीका ५०० जना लाभान्वित भएका छन् ।

बर्खा सुरु हुनासाथ झापाका ठूला नदी मेची, बिरिङ्ग, कनकाई, कमल, रतुवा र मावा नदीमा ठूलो बाढी आउने र बाढीले आफ्नो धार परिवर्तन गरी गाउँ पस्नाले करोडौं रुपैयाँको क्षति हुनुका साथै मानवीय क्षति पनि उत्तिकै हुने गरेको छ । बाढी कै कारण झापाका हजारौं व्यक्ति घरबार बिहीन हुने गरेका छन् भने लाखौं विगाहा जमिन बगरमा परिणत हुने गरेको छ ।

रतुवा नदीको दायाँ किनारामा पर्ने दमक १० स्थित पाँचथरे टोलमा ४० वर्षदेखि रतुवा खोलामा आएको बाढीले दुख दिइरहेको छ । बाढीका कारण स्थानीयबासीको सयौं विगाहा खेत बगरमा परिणत भएको छ । जसले ५०० हाराहारी घर परिवारलाई प्रत्यक्ष असर पुगेको स्थानीयबासी शुकपाल चेम्जोङ बताउँछन् ।

सो ठाउँमा ६७५ मिटर तटबन्धन गरेपछि वर्षौंदेखि बाढीको समस्य भोग्दै आएका स्थानीयबासी अहिले रातको समयमा ढुक्कसँग सुत्न पाएका दमक १० का वडासदस्य बालकृष्ण खनाल बताउँछन् ।

झापाका नदीमा स्थायीरुपमा तटबन्ध गर्नका लागि १८ अर्ब रुपैयाँको डिपिआर तयार गरिएको छ । चालु अर्थिक वर्षमा पक्की र माटोको गरी ६२ करोड रुपैयाँमा १६ हजार ९७३ मिटर तटबन्धको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण गरिएको तटबन्ध बापतको १५ करोड ७७ लाख रुपैयाँ भुक्तानी दिन अपुग भएको जनताको तटबन्ध कार्यालय झापाका प्रमुख अधिकारी बताउँछन् ।

यतिको संख्यमा तटबन्ध गरेपनि झापाका ठूला नदीमा आउने बाढीका कारण हुनसक्ने जोखिम क्षेत्र अझ धेरै छन् । झापामा स्थायी तटबन्ध गरी जोखिम न्यूनीकरण गर्न तटबन्ध कार्यालय झापाले १८ अर्ब रुपैयाको डिपिआरमध्ये हालसम्म ३ अर्ब ६० करोड रुपैयाँ खर्च गरिसकेको जनाइएको छ । यसबाट झापाका ठूला नदीमा १०० किलोमिटर मात्र तटबन्ध गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *