Sajhamanch Archive

राजवंशी विकास समाज कचनकवलको भवन निर्माण अधुरै, लेखा कार्यालयबाट १ करोड निकासा हुँदा ठेकदारले पाए ४३ लाख, ५७ लाख गायव !

Published: in प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, by .

कचनकवल । प्रदेश १ सरकारबाट एक करोड रुपैयाँ भुक्तानी लिएर कचनकवल गाउँपालिकाले राजवंशी समाज विकास समितिको भवन निर्माणका लागि निर्माण कम्पनीलाई ४३ लाख रुपैयाँमात्र मात्र भुक्तानी दिएको रहस्योद्घाटन भएको छ ।

प्रदेश १ लेखा इकाई कार्यालय झापाको विवरण अनुसार गत आर्थिक वर्षमा गाउँपालिकाले भवन निर्माण वापत तीन किस्ता गरी असार मसान्तसम्ममा एक करोड रकम निकासा लगिसकेको छ । काम अधुरै रहँदा पनि रकम निकासा भएर ५७ लाख रुपैयाँ गायब हुनु रहस्याको विषय बनेको हो ।

६६ प्रतिशत काम सम्पन्न भएको प्राविधिक प्रतिवेदन पेश गरेपछि गाउँपालिकालाई प्रदेश १ सरकारले पूरै एक करोड रुपैयाँ भुक्तानी गरेको भए पनि निर्माण व्यवसायी टेकबहादुर श्रेष्ठले भने ४३ लाख रुपैयाँमात्र भुक्तानी पाएको दावी गरेका छन् । े स्थानीयले भने सम्पन्न गरेको कामको भन्दा बढी रकम भुक्तानी गरेर प्राविधिकले ठेकेदार पोषेको आरोप लगाएका छन् ।

तर पूर्वाधार कन्स्ट्रक्सन ललितपुरका सञ्चालकले काम अनुसारको भुक्तानी नै नपाएको आरोप लगाएका छन् । यी परस्पर विरोधी घटनाले भवन निर्माणका लागि आएको प्रदेश सरकारको बजेट कसको गोजीमा छ भन्ने प्रश्न उठेको स्थानीय हरि बस्नेतले प्रश्न गरेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ भित्र निर्माण सम्पन्न गर्नेगरी प्रदेश १ सरकारको एक करोड र गाउँपालिकाको ३० लाख रुपैयाँबाट भवन निर्माण थालिएको योजना अधिकृत केशव मैनालीले जानकारी दिएका छन् । उनका अनुसार नेपाल पूर्वाधार कन्स्ट्रक्सन ललितपुरले भवन निर्माणका लागि भ्याटसहित ८३ लाख ४० हजार ४०० ६५ पैसामा ठेक्का कबोल गरी कामको जिम्मा लिएको हो ।

भवनको स्वामित्वधारक राजवंशी विकास समिति कचनकवलका सचिव कनकप्रसादसिंह राजवंशी चाहिँ भवन निर्माण वास्तविक रूपमा ५५ प्रतिशतभन्दा कम मात्रै सम्पन्न भएको जनाउँछन् । प्रदेश सरकारको बजेट कागज मिलाएर राखिएको भए पनि काम गुणस्तरीय भएमा आपत्ति नरहने उनको जिकिर छ । उनका अनुसार गाउँपालिकाले भवन निर्माण प्रकृया सुरू भएयता राजवंशी समाज विकास समितिसँग सहकार्य नगरेको र समाजले रेखदेख नगरेको नहुँदा कामको गुणस्तरमा प्रश्न उठेको छ ।

यद्यपी प्राविधिक पक्षको नेतृत्व गरिरहेका अमित ढुंगानाले भवन निर्माण सामग्रीको गुणस्तरमा सम्झौता नगरी तोकिएको मापदण्ड अनुसार काम भएको दावी गर्दै सामाजिक सञ्जालमा फैलाइएको हल्लाका पछाडि नजान आग्रह गरेका छन् । प्रदेश १ सरकारको समविकास कार्यक्रम अन्तगरत गाउँपालिकाको ३० प्रतिशत साझेदारीमा भवन निर्माण भइरहेको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिएका छन् । उनका अनुसार एक करोड ३० लाख निर्माण लागत रकम स्वीकृत आयोजना रहेको सो भवन निर्माणका लागि झण्डै ३९ प्रतिशत कम रकम अर्थात् ८३ लाख ४० हजार ४ सय ६५ पैसामा ठेक्का लागेको हो ।

६६ प्रतिशत काम सम्पन्न भएको प्राविधिक टोलीले तयार पारेको प्रगति विवरण पेश गरेपछि गाउँपालिकालाई प्रदेश १ सरकारले पूरै एक करोड रुपैयाँ भुक्तानी गरेको तथा रकम पनि लगेकाले काम पूरा भएको विश्वास लेखा कार्यालयले राखेको कर्मचारी रामप्रसाद आचार्यको भनाई छ ।

स्थानीय बासिन्दा हरि बस्नेतले भने भवन निर्माणमा प्राविधिक पक्षले ठूलो आर्थिक चलखेल गरेर आधा काम पनि सम्पन्न नहुँदै पूरै रकम भुक्तानी लिएको लेखा कार्यालयको विवरणले प्रष्ट देखिएको बताउँछन् । नेपाल तरुण दल झापा क्षेत्र नम्बर ३ का सभापति खड्गबहादुर लिम्बूले सो भवन निर्माणमा चरम भ्रष्टाचार देखिएको भन्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *