Sajhamanch Archive

कोरोना फैलन नदिन कठोर बन्दै स्थानीय सरकारः साउन १३ गतेदेखि बिर्तामोड पनि शील

Published: in मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । बिर्तामोड नगरपालिका साउन १३ गते बुधबार राति १२ बजेदेखि शिल गरिने जनाइएको छ । कोरोना संक्रमितको संख्या दैनिक ५० जनाभन्दा बढी थपिन थालेपछि नगरपालिकामा आइतबार बसेको कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिको बैठकले नगरपालिका क्षेत्र साउन २० गते बुधबार राति १२ बजेसम्मको लागि शिल गर्ने निर्णय गरेको हो ।

बैठकले १३ गते भित्र अतिआवश्यक बस्तुहरु व्यवस्थापन गर्न अनुरोध पनि गरेको छ । यस्तै समिति नगरपालिका तथा सबै वडा कार्यालहरुबाट प्रवाह गरिने सेवाहरुमा अतिआवश्यक बाहेक सबै बन्द गर्ने, कोभिड–१९ को रोकथाम र उपचारको लागि निजी स्वास्थ्य संस्थाहरुसँग समन्वय गरी प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । यसरी नै कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारको लागि सम्पूर्ण राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज, स्थानीय प्रशासन, सञ्चार माध्यम र नगरबासीमा सहयोग आवहान गरिएको छ ।

कोभिड–१९ को परीक्षणको दायरालाई फराकिलो पार्ने, नगरपालिका क्षेत्रभित्र स्वास्थ्य कर्मचारीलाई कोभिड रोकथाम, उपचार र नियन्त्रणमा अझ प्रभावकारीरुपमा परिचालन तथा व्यवस्थापन गर्ने पनि बैठकको निर्णय छ । बैठकले होटल, रेष्टुरेन्ट, सिनेमा हल, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, शैलुन, जिमखाना, व्युटीपार्लर लगायत सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ । समूहमा खेलिने खेलकुद, सभा सम्मेलन, जुलुस, गोष्ठी, तालिम, धार्मिक कार्यक्रम आदि तत्काल नगर्ने नगराउने बैठकपछि प्रकाशित सूचनामा उल्लेख छ ।

अतिआवश्यक पर्ने दूध, दुग्धजन्य पदार्थ, सागसब्जी, माछामासु, खाद्यान्न, औषधी र औषधीजन्य पदार्थ, कृषिजन्य पसलहरु, पेट्रोलियम पदार्थ, वारुण यन्त्र, एम्बुलेन्स, शववाहन, फोहोरमैला व्यवस्थापन, पशु र पंक्षीलाई आवश्यक पर्ने आहारा, इन्टरनेट, केवल र सञ्चार माध्यम बाहेकका सवारीसाधनहरु पूर्णरुपमा निषेध गर्ने निर्णय छ । नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सबै सहकारी संस्था तथा वित्तीय संस्थाका कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने र संघीय सरकारको निर्णय अनुसार त्रिभुवन विश्व विद्यालय र शिक्षण संस्थाहरुबाट सञ्चालन हुने परीक्षाहरु स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरी तोकिएको केन्द्रहरुमा सञ्चालन गर्न दिइने जनाइएको छ ।

कोरोना संक्रमण रोकथाम तथा राहत व्यवस्थापन नगर समन्वय समितिका संयोजक नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश १ का सांसद एकराज कार्की, राष्ट्रियसभाका पूर्व सदस्य डिल्लीप्रसाद सिटौलासहित सरोकारवाला प्रहरी, प्रशासन, सामाजिक अभियन्ता तथा जनप्रतिनिधिहरुको सहभागिता थियो । बिर्तामोडमा आज आइतबारमात्रै ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको तथ्याङ्क अनुसार हालसम्ममा कूल तीन हजार ४३५ जनामा संक्रमण भएको छ भने ५३ जनाले ज्यान गुमाइसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *