Sajhamanch Archive

प्रदेश १ को नामकरणबारे मुख्यमन्त्रीले थाले छलफल

Published: in प्रदेश तह by .

विराटनगर । प्रदेश बनेको ४ वर्ष हुनै लाग्दा समेत प्रदेश १ को नामकरण हुन सकेको छैन । यस्तोमा मुख्यमन्त्री शेरधन राई प्रदेश १ को नामकरणका लागि केही दिनयता छलफलमा जुटेका छन् । प्रदेशसभाको चालु अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले राजनीतिक दलका नेताहरूसँग परामर्श थालेका हुन् ।

अहिले प्रदेशसभाको आठौं अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगन भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका नेताहरूसँग मुख्यमन्त्री राईले छलफल गरेका हुन् । छलफलका क्रममा दलका नेताहरूले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढ्ने बताएका मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि मुख्यमन्त्रीको शपथ ग्रहणपछि नै राईले प्रदेशको नामाकरण तत्काल गर्ने उद्घोष गरेका थिए । अन्य मन्त्रीहरूले पनि पटकपटक नामकरणको मिति घोषणा गरेका थिए । तर प्रदेशसभाको तेस्रो अधिवेशनमा सहमति जुट्न नसकेकाले प्रदेशको नामकरण थाती राखेर राजधानी मात्रै टुंगो लगाइएको थियो । कार्यपालिका, व्यवस्थापिका लगायत संरचना बृहत् विराट विकास क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपास रहने प्रस्तावमा बहुमत सदस्यले मतदान गरेका थिए ।

प्रदेशको नामकरणका लागि ९३ सदस्यीय प्रदेशसभाको दुई तिहाइ अर्थात् ६२ सांसद आवश्यक पर्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *