लुम्बिनी हान्ने दाउमा संघीय सत्ता गठबन्धन !
Published:
by .काठमाडौं । पटक–पटक असफल कोसिस गरेको सत्ता गठबन्धनले लुम्बिनीमा सरकार बदल्ने तयारी गरेको छ । संघीय सरकार र प्रदेश प्रमुख आफू अनुकूल भएका कारण विगतमा विपक्षी गठबन्धनको कोसिस असफल पारेका मुख्यमन्त्री शंकर पोखरेललाई यसपटक ‘चक्रव्यूह’ तोड्न भने कठिन हुने देखिएको छ । केन्द्रको सत्तागठबन्धनले तीनतिरबाट एकैपटक प्रहार गरेर लुम्बिनीमा सरकार बदल्ने निर्णायक कसरत थालेको छ । एक साताभित्रै मुख्यमन्त्री बदल्ने गठबन्धनको गृहकार्य छ ।
सत्तागठबन्धनले मंगलबार नै लुम्बिनीलगायत प्रदेशका प्रमुखलाई हटाएर नयाँ सिफारिस गर्दै लुम्बिनी सरकार परिवर्तनको तयारी थालेको छ । जसपाले आफ्ना तीनजना सांसदलाई कारबाही गरेपछि र प्रदेश प्रमुख पनि फेरिएसँगै लुम्बिनी प्रदेश सभामा पहिल्यैदेखि संकटमा रहेको मुख्यमन्त्री पोखरेलको विकल्प र संसदीय अंकगणितसमेत थप कमजोर बनेको छ ।
गठबन्धनका नेता माओवादी केन्द्रका प्रदेशसभा सदस्य इन्द्रजित थारूले प्रदेशका मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावलाई नयाँ प्रदेश प्रमुख आउने बित्तिकै अगाडि बढाउने बताए । ‘हालका प्रदेश प्रमुखले पटक–पटक संविधान प्रतिकूल हुनेगरी गतिविधि गर्नुभयो’ उनले भने, ‘हामीले बहुमत सांसदको हस्ताक्षरसहित उहाँको कार्यालयमा धर्ना दिँदासमेत मुख्यमन्त्रीको कार्यालयमा नै गएर पुनः नियुक्ति गरेर शपथ गराउनुभयो । पटक–पटक संसद् अधिवेशन अन्त्य गरेर प्रदेश सभालाई अप्ठ्यारो अवस्थामा पुर्याउनुभयो । नयाँ आउने प्रदेश प्रमुखले संविधानसम्मत ढंगले काम गर्नुहुनेछ भन्ने अपेक्षा छ ।’
उनले विपक्षी गठबन्धनबीच प्रदेश सभामा दर्ता मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा अगाडि बढाइने र आफूहरू बहुमतमा भएका कारण सफल हुने बताए । यस्तै, कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले मुख्यमन्त्री पोखरेलले तुरुन्तै विश्वासको मत लिनुपर्ने र लिन नचाहे आफ्नो कोर्स अगाडि बढाउने बताए । ‘बहुमतले शासन गर्नुपर्नेमा अल्पमतले शासन गर्दै आएको अवस्थामा मन्त्रीले राजीनामा दिइसक्दासमेत नैतिकताका आधारमा मुख्यमन्त्रीको राजीनामा आउनुपर्ने हो, त्यसो हुन सकेन’ खानले भने, ‘हामी फेरि पनि विश्वासको मत लिन आग्रह गर्छौँ, त्यसो नगर्ने हो भने अब हामी छिट्टै नयाँ कोर्स सुरु गर्छौँ ।’
जसपा संसदीय दलका नेता सहसराम यादवले पनि प्रदेश सरकार स्पष्ट अल्पमतमा रहेकाले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने भए पनि त्यसो हुन नसकेको र अब गठबन्धन आवश्यक तयारीका साथ अगाडि बढ्ने बताए । नयाँ नियुक्त गरेपछि अब संसद्मा दर्ता भएर थन्किएको अविश्वासको प्रस्तावलाई अगाडि बढाउने र आफूसँग बहुमत भएका कारण सजिलै मुख्यमन्त्रीलाई हटाउने रणनीतिमा छ ।
सत्तापक्षले भने अझै पनि कानुनी हिसाबले आफू बहुमतमा रहेको दाबी गर्दै विश्वासको मत लिने सम्भावना नरहेको बताएको छ । प्रदेश सरकारका प्रवक्ता मन्त्री बैजनाथ चौधरीले मुख्यमन्त्रीले अहिले नभई उपयुक्त समयमा विश्वासको मत लिने बताए ।
लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धनको बहुमत भए पनि मुख्यमन्त्री पोखरेलले संसद् छल्दै आएका कारण लामो समयदेखि मुख्यमन्त्रीलाई हटाउने प्रयास सफल भइरहेको थिएन ।
गठबन्धनले मुख्यमन्त्रीलाई संविधानविपरीत प्रदेश प्रमुख यादवले सहयोग गरेका कारण आफूसँग बहुमत हुँदा पनि सरकार परिवर्तन गर्न नसकेको बुझाइ राखेको छ । गठबन्धन घटक जसपाले पनि लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा सहभागी आफ्नो पार्टीका तीनजना प्रदेश सभा सदस्यलाई कारबाही गर्ने निर्णय गरेको छ ।
यसअघि पहिलोपटक गत ६ वैशाखमा विपक्षी गठबन्धनले प्रदेश सभामा मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्नका लागि १९ वैशाखमा प्रदेश सभाको बैठक राखिएको थियो । तर, मुख्यमन्त्री पोखरेलले सोही दिन पदबाट राजीनामा दिएर प्रदेश प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर पुनः मुख्यमन्त्री पदको शपथ लिएका थिए । त्यसपछि २६ वैशाखमा विपक्षी गठबन्धनले दोस्रोपटक दर्ता गरेको अविश्वास प्रस्ताव अहिलेसम्म पनि प्रदेश सभामा थन्किएको छ । संसद्मा बहुमत नभएपछि मुख्यमन्त्री पोखरेलले चालू अधिवेशनलाई समेत अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याएका छन् ।
प्रधानमन्त्री ओलीले गत ५ पुसमा पहिलोपटक संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि त्यतिवेला सत्ताबाहिर रहेका दलहरूले केन्द्रसहित विभिन्न प्रदेशका सरकार परिवर्तनको प्रयास गरेका थिए । जसमध्ये गठबन्धनले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा ओली पक्षलाई सत्ताच्युत गरिदिएका छ । कर्णाली प्रदेशमा गत ६ वैशाखमा कांग्रेस र एमालेकै माधव नेपाल पक्षको सहयोगमा मुख्यमन्त्री महेन्द्र शाहीले विश्वासको मत प्राप्त गरेका थिए । त्यसपछि २५ जेठमा सुदूरपश्चिम प्रदेशमा एमालेका खनाल–नेपाल समूहका १७ जना सांसदको सहयोगमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टले पनि विश्वासको मत प्राप्त गर्न सफल भएका थिए ।
गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले एमालेका तर्फबाट मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङलाई अविश्वासको मत लिन असफल बनाएर २९ जेठमा कांग्रेसका प्रदेश सभा सदस्य कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन सफल भइसकेको छ । केन्द्रमा गठबन्धनको सरकार बनिसकेको अवस्थामा अब लुम्बिनी प्रदेश सरकारबाट समेत एमालेको ओली पक्षलाई सत्ताच्युत गर्ने रणनीतिमा गठबन्धन लागेको छ ।
नयाँपत्रिकाबाट
Comments