Sajhamanch Archive

कविताः नयाँ क्रान्ति

Published: (Updated: ) in साहित्य, by .

आमा म फर्किँदैछु,
एउटा महान युद्ध जितेर
क्रान्तिको गाथा बोकेर
देशमा शान्तिको लागि
धेरै संघर्ष गरेँ,
परिवर्तनको नारा लगाएँ
बीच सडकमा गएर चिच्याएँ
आन्दोलन गरेँ
जुलुसमा सहभागी बनेँ
यतिखेर युद्धको भूमिबाट बोलिरहेको छु

अहिले,
यहाँ शान्तिको घोषणा भयो
अब दुक्कसँग शान्तिको श्वास फेर्न सक्छौं ।
हेर त त्यो पारी डाँडाबाट
झलमल बत्ति बलिरहेको छ
झन्डा फरफराइरहेको छ
सूर्य र चन्द्र भएको त्यो मेरो देश हो
मेरो लागि स्वाभिमान हो
त्यसैले म फर्किँदैछु
शान्तिको समाचार बोकेर
पल्लो घरको दिदीलाई भने हुन्छ
हल्ला गरे हुन्छ गाउँघरमा
छोरोले युद्ध जित्यो नयाँ क्रान्तिको
सूर्यले पनि नयाँ बिहानीको
सङ्केत दियो
दिदीबहिनी दाजुभाइमा
विश्वबन्धुत्व भावना बढेर गयो
यो बेला सबैले खुसीले
उत्सव मनाइरहेका हाँसिरहेका देखिन्छन्
आमा म फर्किँदैछु
नयाँ दिन देख्नको लागि
नयाँ क्रान्ति भएको हेर्नको लागि
म यहाँनेर उद्घोष गर्दैछु
नयाँ क्रान्तिको सुरुवात भयो ।।

बिर्तामोड , झापा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *