Sajhamanch Archive

यथाशीघ्र खोप उपलव्ध गराउने व्यवस्था मिलाउन प्याब्सन/एनप्याब्सन बिर्तामोडको विज्ञप्ति

Published: in विज्ञापन by .

 

 

प्याब्सन/एनप्याब्सन बिर्तामोडको विज्ञप्ति

मितिः २०७८/०४/१७

कोभिड–१९को महामारीबाट आक्रान्त भइरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले मानव सभ्यताको संरक्षणका लागि खोपको समानुपातिक वितरण गर्ने भन्ने विषय र विश्वका हरेक सरोकारवालाहरुले आफ्ना नागरिकहरुलाई निःशुल्क खोपको व्यबस्था गरिरहेको सन्दर्भमा नेपाल सरकारले पनि स्थानीय सरकारमार्फत खोप लगाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । हरेक क्षेत्रमा अग्रणी स्थानमा रहेको नेपालको पूर्वी शहर बिर्तामोड नगरपालिकाले पनि विभिन्न लक्षित समूह तोकेर विभिन्न चरणमा विभिन्न ब्राण्डका खोपहरुको वितरण योजना सार्वजनिक गरेको अवस्थामा हामी नगरबासीहरु आफू सुरक्षित हुने कुरामा विश्वस्त बन्ने वातावरण बनेको थियो । यो सकारात्मक कुरा हो ।

अन्य देशबाट आयात गरेको खोप भण्डारणको प्राविधिक कारणले सिमित मात्रामा पटकपटक गरी ल्याउनु पर्ने र विभिन्न लक्षित समूहलाई लगाउनु पर्नेजस्ता कुराहरुले सर्वसाधारण जनताले नगरपालिकाको स्वास्थ्य प्राविधिक समूह तथा नेतृत्व पक्षप्रति सदासयता प्रदर्शन गर्दै धैर्यतापूर्वक आफ्नो पालो पर्खिने र अनुशासित भई लामबद्ध भएर खोपको प्रतिक्षा गर्ने नागरिकको धैर्यतालाई कमजोेरी ठानेर अनावश्यक फाइदा उठाउने षड्यन्त्रका तानाबाना बुन्न थालेको आभाष भएको छ ।

यसै सन्दर्भमा बिर्तामोड नगरपालिकाले साउन १२ गतेदेखि १५ गतेसम्म भेरोसिल खोप वितरण गर्ने क्रममा १४ र १५ गते शिक्षण संस्थासँग सम्बन्धित व्यक्तिहरुलाई खोप लगाउने कार्यक्रम तय भएको थियो । अरु पालिकाहरुमा कुनै विभेद नगरी दुवै दिन सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुले खोप लगाउन पाए । तर बिर्तामोड नगरपालिकामा भने अघिल्लो दिन सामुदायिक विद्यालय र भोलिपल्ट संस्थागत विद्यालय भनेर छुट्याइयो । यसमा पनि संस्थागत विद्यालयका संगठनहरुले भिड व्यवस्थापन गर्न यसो गरिएको होला भनी स्वीकार गरे तर त्यहीँ विषालु षड्यन्त्रले प्रवेश गरिसकेको रहेछ । अघिल्लो दिन सबैलाई पुग्ने खोप भोलिपल्ट प्रति विद्यालय ५, १० र १५ को कोटामा परिणत भयो । त्यसले संस्थागत विद्यालयभित्र द्वन्दसमेत सृजना गर्यो । त्यो पनि खोप लगाउन तातो घाममा बिहान ८ बजेदेखि लामबद्ध रहेका शिक्षक कर्मचारीहरुलाई खोप नलगाई १ बजे सूचना गरियो । पर्याप्त खोप नभएकाले लगाउन नसकिने र अर्कोदिन अर्थात १६ गते शनिबार बिर्तामोडल स्कूलमा खोप लगाउने भनियो र त्यो पनि राति ९ बजे स्थगित गरिएको सूचना निकालियो । यस पाखण्डीपूर्ण कार्यलाई बिर्तामोडस्थित संस्थागत विद्यालयहरु तथा त्यहाँ कार्यरत शिक्षक कर्मचारीहरुले नगरपालिकाले आफूमाथि गरेको अन्याय र अपमानको रुपमा लिँदै यस कार्यको घोर भत्सर्ना गर्दछ । यता शिक्षक कर्मचारीहरुलाई ताता घाममा टट्याउने र रित्तै फर्काउने अनि नगरपालिकाको कोभिड फोकल पर्सन चाहिँ खोपसहित होटलमा फेलापर्नुजस्ता कुराले नगरपालिकाको जनताप्रतिको उत्तरदायित्व प्रति प्रश्न चिन्ह खडा भएको छ ।

विद्यालयमा कक्षा–११ तथा १२ साथै विश्व विद्यालयका विभिन्न तहका परीक्षाहरु चलिरहेको अवस्था तथा अन्य कक्षाको पनि अनलाइन पठन–पाठन सञ्चालन भइरहेको अवस्थामा अन्य क्षेत्रहरुभन्दा विद्यालय क्षेत्र नै सबैभन्दा जोखिममा रहेका छन् । तर सम्बन्धित निकायको सौतेलो व्यवहारका कारणले यसै समुदायका विद्यार्थी तथा शिक्षक बढी मर्कामा छन् । यी सबै कुरालाई ध्यानमा राखी हामीलाई अपमानपूर्वक तोकिएका ५, १० र १५ को कोटा अश्वीकार गर्ने निर्णय गर्दे सम्पूर्ण संस्थागत विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सम्पूर्ण कर्मचारीहरुलाई विना भेदभाव खोेपको व्यवस्था गरियोस् । अन्यथा कक्षा ११ तथा १२ को परीक्षा तथा नगरपालिकाले निर्देशन गरेको कुनै प्रकारका शैक्षिक गतिविधिहरु सञ्चालन गर्न नसकिने कुरा जानकारी गराउँछौ ।

अन्त्यमा शिक्षक कर्मचारी भनेपछि संस्थागत वा सामुदायिक जे भएपनि जीवित मानव हो भन्ने सोच राखियोस् र सुरुमै विभेदमा परेका हामी संस्थागत विद्यालयसँग आवद्ध संस्थाहरुको मागलाई प्राथमिकताका साथ लिएर यथाशीघ्र खोप उपलव्ध गराउने व्यवस्था मिलाउन यसै विज्ञप्ति मार्फत जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ कार्यलय भद्रपुर, बिर्तामोड नगरपालिका लगायत सम्बद्ध सबैमा जोडदार अपील गर्दछौं ।

 

अध्यक्ष उत्तम खनाल: प्याब्सन बिर्तामोड नगर समिति   

 

         

 

     मोहन आचार्य: एन–प्याब्सन बिर्तामोड नगर समिति  

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *