Sajhamanch Archive

झापामा साउन २० र २१ गते जानसेन खोप लगाइने

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

बिर्तामोड । कोरोना विरुद्धको खोप अभियानले विवादित बनेको झापामा साउन २० र २१ गते ५० देखि ५४ वर्षका नागरिकलाई खोप लगाइने तालिका सार्वजनिक गरिएको छ।

स्वास्थ्य कार्यालय झापाले सबै पालिकाहरुलाई अमेरिकाबाट प्राप्त जानसेन खोप लगाउने गरी तयारी गर्न पत्राचार गरेको हो । पत्रमा, जिल्ला विपद् व्यवस्थापन समिति डिसिएमसिको साउन १४ गते र जिल्ला कोभिड खोप व्यवस्थापन समितिको साउन १६ गतेको निर्णय बमोजिम यही २० र २१ गते ५० देखि ५४ वर्षका आम नागरिकलाई व्यवस्थित ढंगले खोप अभियान सञ्चालन गर्न भनिएको छ।

झापामा खोप अभियान सञ्चालन भइरहँदा अव्यवस्था भइरहेको र लगाउनु पर्ने भनी वर्गीकरण गरिएका नागरिकले खोप लगाउन नपाएको बरु अन्य व्यक्तिले खोप लगाए भन्ने अवस्था दोहोरिन नदिन सर्वपक्षीय वैठक राखी पूर्व योजना बनाएर मात्र खोप अभियान सञ्चालन गर्नुपर्ने निर्देशन गरिएको छ।

खोप योजना बनाउँदा घट्दो क्रममा ५४, ५३, ५२ वर्षका नागरिकलाई पहिलो दिन अर्थात् साउन २० गते र ५१ र ५० वर्ष तथा लक्षित समूहलाई दोस्रो दिन अर्थात साउन २१ गते खोप लगाउन भनिएको छ। यसैगरी ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, भूटानी शरणार्थी र भिषा लागिसकेका विदेश जाने नागरिकलाई लक्षित समूह मानेर खोप दिनु पर्ने पत्रमा उल्लेख छ।

यी खोपहरु विगतमा जस्तै जिल्लाका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरूमा सञ्चालन गर्नुपर्ने निमित्त कार्यालय प्रमुख ईश्वरी पौडेलद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *