सहकारीमा सन्दर्भ ब्याजदरः १४ दशमलव ७५ बाट घट्ला कि नघट्ला !
Published:
by .काठमाडौं । सहकारी संस्थाहरु स्वायत्त छन् भन्ने संस्थाको विनियमलाई अनदेखा गर्दै फेरि पनि सन्दर्भ ब्याजदर पुनरावलोकन गर्ने कार्यदल बनाइएको छ । पहिलोपटक २०७६ साउन १९ गतेदेखि सहकारी संस्थाहरुले ऋण लगानीमा अधिकतम् १६ प्रतिशत ब्याज लिन पाउने गरी सन्दर्भ ब्याजदर तोकिएको थियो । त्यसलाई पुनरावलोकन गरेर २०७७ साल कार्तिक १५ गतेदेखि लागू हुनेगरी १४ दशमलव ७५ प्रतिशत ब्याजदर कार्यान्वयनमा छ ।
सहकारी विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको हो । सहकारीको ब्याजदर कार्यान्वयनको अवस्था र पुनरावलोकनका सम्बन्धमा बसेको ‘सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समिति’को बैठकले सो कार्यदल गठन गरेको हो । कार्यदलले दिएको सुझावका आधारमा समितिले ब्याजदरमा तय गर्ने बताइएको छ ।
सहकारी विभागका उपरजिष्ट्रार पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा राष्ट्रिय सहकारी महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ, राष्ट्रिय सहकारी बैंकका सीइओ बद्रिकुमार गुरागाईं, र नेफ्स्कुनका सीइओ प्रकाशप्रसाद पोखरेल रहेका छन् । त्यसैगरी सहकारी विकास बोर्डका उपप्रबन्धक, राष्ट्र बैंकका प्रतिनिधि र विभागका तर्फबाट एकजना सदस्य सचिवको रुपमा कार्यदलमा रहेका छन् ।
कार्यदलका संयोजक उपरजिष्ट्रार पौडेलले खुल्ला बजार अर्थतन्त्र भएकाले बजारलाई हेरेर मात्रै सन्दर्भ ब्याजदर तोक्न सकिने बताए । उनले भने ‘ब्याजदर घट्ने वा बढ्ने भन्ने सन्दर्भमा अहिले केही भन्न सकिँदैन, सहकारी नियमावली २०७५ को नियम २३ मा भएको व्यवस्था अनुसार वित्तीय क्षेत्रको भारित औसत ब्याजदरका आधारमा सन्दर्भ ब्याजदर तोकिन्छ । कार्यदलले सबै क्षेत्रको ब्याजदर अध्ययन गरेर मूल समितिलाई सन्दर्भ ब्याजदर निर्धारणका लागि शिफारिस गर्नेछ ।’
कार्यदलले राष्ट्र बैंक लगायतका अन्य सरोकारवाला निकायलाई वस्तुगत अवस्थाका बारेमा जानकारी गराउन लिखित पत्र पठाउने र त्यसपछि कार्यदलले दुईचारवटा अन्तक्रिया गरेर मात्रै समितिलाई सुझाव दिने बुझिएको छ । ‘बिना अध्ययन हचुवाका भरमा सुझाव दिन मिल्दैन’, पौडेलले भने ‘बजारको बस्तुगत अवस्थालाई सन्दर्भ मानेर ब्याजदर तोक्न सिफारिस गर्ने हो । ’
सहकारीकर्मीहरु भने सन्दर्भ ब्याजदरका विषयमा फरक मत राख्दै आएका छन् । उनीहरुले सन्दर्भ ब्याजदरको नाममा सिलिङ लगाउन नहुने भन्दै यसको विरोध गर्दै आएका छन् ।
Comments