Sajhamanch Archive

अपाङ्ग पुनस्र्थापनामा संस्थाको रचनात्मक सहयोग

Published: in राष्ट्रिय समाचार by .

दमक । दुई दशक अगाडिदेखि यहाँ सञ्चालित दमक अपाङ्ग सहयोग समितिले अपाङ्गता भएका व्यक्तिहरुको उत्थान र संरक्षणमा विभिन्न कार्यक्रमहरु गर्दै आएको पाइएको छ ।

संस्थाका अध्यक्ष खगेन्द्रबहादुर भट्टराइले दिएको जानकारी अनुसार सो संस्थाले झापाका सबै गाउँपालिका र नगरपालिका एवम् आसपासका जिल्लाहरूबाट आउने अपाङ्गता भएका ब्यक्तिहरूलाई स्वावलम्बी बनाउने प्रयासमा उद्यमशील तालिम प्रदान गरिरहेको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको हकहितमा तथा संरक्षणमा रहेर संस्थाले उत्थानका कार्यक्रम, गोष्ठी र अन्तरक्रियाहरु गर्दै आइरहेको अध्यक्ष भट्टराइले बताएका हुन् ।

संस्थाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर उन्मुख गराउनका लागि आधारभूत सिलाई–कटाई तालिम, जीवन यापनका लागि सहायक सामग्री वितरण, परिचय पत्र वितरणको शिविर सञ्चालन गरिसकेको कार्यसमितिका सदस्य मदन बोहोराले बताए ।

त्यसैगरी, संस्थाले प्रत्येक महिनाको पहिलो शनिबार विशेष गरी ओठ तालु फाटेका बालबच्चालाई र अन्य समस्या भएकाहरुलाई स्वास्थ्य परीक्षण गर्दै आएको जनाइएको छ । थप उपचार गराउनु पर्ने किसिमका बिरामीका लागि निःशुल्क उपचार गरिने अस्पतालमा सिफारिस गरिँदै आएको सदस्य बोहोराले सुनाए ।

गएको शनिबार सम्पन्न कार्यसमितिको बैठकले प्रदेश स्तरीय अपाङ्ग पुनस्र्थापना केन्द्रका लागि खरिद गरेको जग्गाको पैसा चुक्ता गर्ने निर्णय भएको जनाइएको छ । यस्तै सो बैठकबाट राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ को प्रथम साधारणसभा दमकमा गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ को प्रथम साधारणसभामा प्रतिनिधित्वका लागि संस्थाका सचिव देवीबहादुर बस्नेत र कोषाध्यक्ष पार्वता श्रेष्ठलाई पठाउने निर्णय गरेको सदस्य बोहोराले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *