प्रदेश १ : मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीबीच कार्र्य सम्पादन सम्झौता
Published:
by .विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईबीच आज कार्र्य सम्पादन सम्झौता भएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यसम्पादन सम्झौता भएको हो ।
प्रदेश १ सरकारको काम कारवाहीलाई पारदर्शी, नतिजामुलक एवम् उपलब्धिमा आधारित बनाउन ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्नेगरी सम्झौता गरिएको छ । प्रदेश सरकारको प्रथम आवधिक योजनामा उल्लेखित ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको दीर्घकालिन सोच कार्यान्वयन गर्न, प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ को नियम ६ बमोजिम कार्य जिम्मेवारी पूरा गर्न दुईपक्षीय सम्झौता भएको जनाइएको छ ।
विभागीय मन्त्रीका रुपमा कामको फस्र्यौट गर्न र प्रदेश सुशासन ऐन र नियमावलीको व्यवस्थालाई आत्मासाथ गर्दै मुख्यमन्त्री राई र सामाजिक विकास मन्त्री राईबीच कार्र्य सम्पादन सम्झौता भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
सम्झौता अनुसार सामाजिक विकास मन्त्री राईले नेपालको संविधान अनुसूची ६, ७ र ९ र प्रदेश सरकार नियमावली २०७४ को नियम ५ सँग सम्बन्धित विषय संख्या ५ बमोजिम कार्ययोजना बनाई कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने उल्लेख छ ।
कार्यसम्पादन सम्झौता अनुसार मुख्यमन्त्री राईबाट नियमित अनुगमन तथा मन्त्रालय स्तरीय समस्या समाधान समितिमा समीक्षा हुने उल्लेख गरिएको छ ।
Comments