Sajhamanch Archive

बाढीपहिरोका कारण सडकमा मात्रै ८० करोड रुपैयाँको क्षति

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । वर्षाका कारण आएको बाढीपहिराले यो वर्ष सडकमा झण्डै ८० करोड रुपैयाँको क्षति भएको छ । हालसम्म एक सय ५८ सडक अवरुद्ध भएको र २५ पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ । अहिलेसम्म सडकमा कति रकमको क्षति भएको भन्ने अनुमान गरिए पनि पुलमा गर्न नसकिएको विभागका सम्भार महाशाखाका प्रमुख तथा उपमहानिर्देशक भीमार्जुन अधिकारीले बताए ।

उनका अनुसार खोलाको सतह माथिसम्म भइरहेकाले पुलमा अहिले नै क्षति देखिएको छैन । उनले भने, “वर्षा कम भएपछि मात्रै त्यसको क्षति यकिन हुनेछ ।”

क्षतिग्रस्तमध्ये अहिले १० सडकबाहेक अरू आंशिक वा पूर्णरूपमा सञ्चालनमा आइसकेको छन् । हालसम्म एक सय ५८ सडक अवरुद्ध भएकामा ५२ सडक पूर्णरूपमा चालु भइसकेको र ९६ सडक एकातर्फबाट मात्रै सञ्चालनमा रहेको विभागले जनाएको छ ।

यस वर्ष क्षति पुगेका २५ पुलमध्ये आठ निर्माण सम्पन्न भइसकेका पुल हुन् भने आठ निर्माणाधीन पुल छन् । सात पुलमा क्षति नभए पनि पहुँच सडक क्षतिग्रस्त हुँदा पुल प्रयोगमा आउन नसकेको महाशाखामा कार्यरत इन्जिनीयर केशव ओझाले बताए । तीन कल्भर्ट र दुई काठको पुलमा क्षति पुगेको छ ।

उनले भने, “डुम्रेबाट माथि चामे जाँदा बाटोमा सानासाना छहरामा रहेका काठको पुल पनि क्षतिग्रस्त भएको छ ।”

क्षतिग्रस्त बनेका पुलमा निर्माणाधीन भए त्यसको मर्मतको जिम्मेवारी व्यवसायीको हुने र निर्माण सम्पन्न भएर सञ्चालनमा रहेका पुलको मर्मतको जिम्मेवारी विभागको हुने इन्जिनियर ओझाले बताए । विभागले सङ्घीय, प्रदेश र स्थानीय गरी सबै किसिमका सडकमा आवश्यकतानुसार बेली ब्रिज उपलब्ध गराउँदै आएको छ । आपत्कालीन प्रयोगका लागि पूर्णरूपमा यातायात नै ठप्प भएका ठाउँमा बेली ब्रिज राखिने गरिएको उनले बताए ।

चालु आवमा कुनै पनि ठाउँमा बेली ब्रिज राखिसकिएको छैन । विभागले मेलम्ची–हेलम्बु सडक र बेँसीसहर–चामे सडकमा बेली ब्रिज राख्ने योजना बनाएको छ । उनले भने, “बेली ब्रिज राख्न खोलाको सतह कम भएर सडक पनि अवरुद्ध भइहाल्ने अवस्था नहुँदा सजिलो हुन्छ ।”

यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीसहर–चामे सडक र अरनिको राजमार्गमा देखिएको उपमहानिर्देशक अधिकारीले बताए । बेँसीसहर–चामे सडकमा अहिले विभागले लमजुङतर्फबाट सडक खुलाइरहेको छ । मनाङतर्फ भने चट्टान रहेकाले नेपाली सेनाले नै खुलाउनुपर्ने उनले बताए । सो क्षेत्रमा चट्टान फुटाउनका लागि विस्फोटन गर्नुपर्छ । उनले भने, “सो क्षेत्रमा सेनाको सहयोगमा सडक खुलाउने गरी कुरा भएको छ ।”

असार महिनामा वर्षाका कारण पहिराले अरनिको राजमार्गको ठाउँठाउँमा सडक अवरुद्ध बनेको थियो । अहिले पहिरो पन्छाएर कतै एकातर्फबाट त कतै दुवैतर्फबाट सडक सञ्चालन भइरहेको उपमहानिर्देशक अधिकारीले बताए । सो राजमार्गमा खासगरी दुई ठाउँमा क्षति पुगेकामा एक ठाउँमा निर्माण भइसकेको छ भने एउटामा निर्माण भइरहेको छ । एक ठाउँमा वर्षाले पुल नै कटान गरेको थियो । उनले भने, “ठूलो क्षति भएको ठाउँमा ढलान नै गरेर पर्खाल उठाउनुपर्ने भएको छ ।”

बाढी र पहिराका कारण सडक ठाउँठाउँमा क्षतिग्रस्त बने पनि खुलाइँदै आएको छ । सडक नै भासिएको वा पुल नै बगाएको ठाउँमा मात्रै सडक चालु गर्न लामो समय लाग्ने देखिएको छ । उनले भने, “पुल बगाएको ठाउँमा पानीको तह नघटी केही गर्न सकिँदैन ।”

चालु आवमा चाँडो वर्षा सुरु भएकाले अन्तिम काम भइरहेका धेरै पुल सम्पन्न हुन नसकेको उपमहानिर्देशक अधिकारीले बताए । निर्माणाधीन कतिपय पुलमा निर्माण व्यवसायीले ढलान गर्नका लागि टेको लगाएकामा क्षतिग्रस्त भएका छन् । बर्सेनि असार १५/२० गतेपछि मात्रै वर्षा सुरु हुने गरेको भए पनि यो वर्ष जेठमा नै वर्षा सुरु भएको थियो । कतिपय पुल वर्षा पहिले ढलान गरिसक्ने गरी निर्माणको काम अघि बढाइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *