साताको पहिलो र दोस्रो कारोबार दिन नेप्से नयाँ उचाइमा
Published:
by .काठमाडौं । साताको पहिलो र दोस्रो कारोबार दिन सामान्य अंकको वृद्धि भएको नेप्से आज तेस्रो कारोबार दिनमा भने एक प्रतिशतभन्दा माथिले बढेको छ । विकास बैंक र वित्त कम्पनीलाई साथ दिँदै बैंकिङ, लघुवित्त र बिमा उपसूचकमा पनि वृद्धि हुँदा नेप्सेले नयाँ उचाइ कायम गरेको छ ।
गएको बुधबार ३१२३.८५ अंकको ऐतिहासिक उचाइमा पुगेर बिहीबार करेक्सन भएको नेप्सेले आज पुन नयाँ उचाइ कायम गरेको छ । नेप्सेमा वृद्धिसँगै आज कारोबार रकम पनि बढेको छ । सोमबार ३१०९.५९ अंकमा बन्द भएको नेप्से ५१.९७ अंकले वृद्धि भएर ३१६.५६ अंकको ऐतिहासिक उचाइमा बन्द भएको छ ।
तर, पछिल्लो केही दिनदेखि उच्च आकर्षण देखिएको हाइड्रोपावरबाट आज लगानीकर्ता बैंकिङ क्षेत्रतर्फ मोडिएका छन् । विकास र वित्त कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिँदा आइतबार अधिकांश उपसूचकमा वृद्धि आएको छ । त्यसले नेप्से पनि उच्च अंकले बढेको छ ।
आज बैंकिङ उपसूचकमा १.८९ प्रतिशतले वृद्धि हुँदा विकास बैंक उपसूचक सर्वाधिक ८.०७ प्रतिशत, वित्त कम्पनी उपसूचक ६.८७ प्रतिशत, लघुवित्त उपसूचक १.२९ प्रतिशत, लगानी उपसूचक १.८६ प्रतिशत र जीवन बिमा उपसूचक १.१८ प्रतिशतले बढेको छ ।
यता, होटेल तथा पर्यटन, हाइड्रोपावर र व्यापार उपसूचकमा भने गिरावट भएको छ । होटेल तथा पर्यटन उपसूचकमा ०.२४ प्रतिशत, हाइड्रोपावर उपसूचक ०.०७ प्रतिशत र व्यापार उपसूचक १.६६ प्रतिशतले घटेको छ ।
आज विकास र वित्त कम्पनी उपसूचक उच्च अंकले वृद्धि हुँदा कारोबार रकममा पनि विकास बैंक र वित्त कम्पनीसँगै हाइड्रोपावरमा पनि लगानीकताले नाफा बुक गर्दा कारोबार रकम उच्च देखिएको छ ।
आज नेप्सेमा तीन करोड ३३ लाख ३५ हजार २१३ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजारको कारोबार भएको छ । जसमध्ये अपर तामाकोसी हाइड्रोपावरको सर्वाधिक ८९ करोड ५८ लाख ९४ हजारको कारोबार हुँदा अरुण भ्याली हाइड्रोपावरको ५३ करोड ७ लाख ७८ हजार, अपी पावरको ५१ करोड ९२ लाख ६९ हजार, ज्योति विकास बैंकको ४८ करोड ८४ लाख ३८ हजार र अरुण काबेली पावर कम्पनीको ४१ करोड ५२ लाख ८६ हजारको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १४ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । जसमध्ये अधिकांश विकास बैंक र वित्त कम्पनी रहेका छन् । १९ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको देखिन्छ ।
यता, सान्जेन जलविद्युत् कम्पनीको सेयर मूल्य ५.१६ प्रतिशत, सिनर्जी पावरको सेयर मूल्य ४.७१ प्रतिशत र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ४.२५ प्रतिशतले घटेको छ । यस्तै, पञ्चकन्यामाई हाइड्रोपावर, ४.११ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका १८५ कम्पनीमध्ये ४६ कम्पनीको सेयर मूल्य घट्दा १३७ कम्पनीको सेयर मूल्य वृद्धि र दुई कम्पनीको स्थिर रहेको छ ।
Comments