ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए २० प्रतिस्पर्धी
Published:
by .काठमाडौँ । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएका प्रतिभामध्ये उत्कृष्ट २० जना छानिएका छन् ।
‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन सिजन–१ को गाला राउन्डको दोस्रो चरणबाट उत्कृष्ट २० जना पतिस्पर्धी छनौट भएका हुन् ।
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय यूवा समितिले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा डिजिटल अडिसन ओपनिङ राउन्डको अन्तरा, सारेगम र पियानो राउन्ड पार गर्दै छनोट भएका २५ जनामध्येबाट ‘गाला राउन्ड’को दोस्रो चरणमा २० जना छानिएका हुन् ।
ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकहरू गायक उदय सोताङ, विजय लामा, गायिका प्रश्ना शाक्य र सुनिता दुलाल रहेका छन् ।
एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीले निर्णायकको मत र भोटिङमार्फत प्रतिस्पर्धाहरूलाई अघिल्लो चरणका लागि अघि बढाइएको बताए । एनआरएनए मध्यपूर्व युवा संयोजक राज रेग्मीको अध्यक्षतामा शुक्रबार सम्पन्न गाला राउन्डको दोस्रो चरणमा २५ जना प्रतिस्पर्धीहरुले प्रस्तुति दिएका थिए ।
गैरआवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअलमार्फत गरिएको रेग्मीले बताए । रेग्मीका अनुसार ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत ४० प्रतिशत अंक प्राप्त गर्नेछन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्नेछन् ।
‘नेपाली कला र संस्कृतिलाई विश्वमा चिनाउनुपर्छ र गैरआवासीय नेपालीहरूलाई नेपालसँग जोड्नुपर्छ भन्ने अभिप्रायले नै हामीले ग्लोबल एनआरए सिंगिङ आइडलको आयोजना गरेका हौं,’ रेग्मीले भने । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रुपैयाँ, तेस्रो पुरस्कार दुई लाख रुपैयाँ, चौथो पुरस्कार एक लाख रुपैयाँ र पाँचौं पुरस्कार ५० हजार रुपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीत गाउने अवसर प्रदान गरिने छ ।
Comments