बाल अस्पताल सञ्चालनका लागि सहयोग जुटाँउदै डा.कोइराला
Published:
by .विराटनगर । प्रदेशस्तरीय बाल अस्पताल सञ्चालन गर्न प्रदेश नम्बर–१ मा डा. भगवान कोइराला सक्रिय भएका छन् । उनले गैरनाफामूलक ढंगले सञ्चालन हुने अस्पतालका लागि गर्न पूर्वका सामाजिक संघ–संस्थालाई पनि सहभागी हुन आग्रह गरेका छन् ।
विराटनगरमा मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेटघाट गरी उनले काठमाडौंमा स्रोत केन्द्रको रूपमा बहुविशिष्टिकृत सेवासहितको अस्पताल र बाँकी सबै प्रदेशमा बाल अस्पताल निर्माण गरी सञ्चालन गर्ने उद्देश्य रहेको सुनाए ।
“प्रदेश नम्बर–१ मा झापाको दमकमा रेडक्रस भवन लिजमा लिई अत्याधुनिक सेवासहित दक्ष प्राविधिकहरुबाट सञ्चालन गर्ने तयारी भएको छ । बाल अस्पतालको निर्माणकार्यमा व्यापार संघले समेत पहल लिनेछ भन्ने विश्वास लिएको छु,” उनले भने ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला र नेपाली सेनाका उपरथी अनन्त कार्कीले यस विषयमा उद्योगी व्यवसायीसँग छलफल गरेका हुन् ।
विराटनगरमा समय सान्दर्भिक र द्रुत गतिमा प्रविधियुक्त सुविधासम्पन्न कोभिड अस्पताल निर्माण गर्न नागरिक केयर सेन्टरमार्फत पुर्याएको योगदान प्रशंसनीय र अतुलनीय रहेको डा. कोइरालाले बताए । बाल अस्पताल निर्माणमा पनि समन्वय गरिदिन आग्रह गरे ।
व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बाल अस्पताल निर्माणका लागि संघबाट यथाशक्य साथ, सहयोग एवं समन्वय गर्ने बताए । त्यस अवसरमा नागरिक केयर सेन्टर सञ्चालनमा सहयोग गरेका उद्योगी महेश जाजू, नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिर, संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाललगायत सहभागी थिए ।
Comments