Sajhamanch Archive

गर्भवतीलाई कोभिडविरुद्धको भ्याक्सिन दिन सिडिसीको स्वीकृति, नेपालमा छुट्टै व्यवस्था छैन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । गर्भवती र स्तनपान गराइरहेका महिलाका लागि समेत कोभिड विरुद्धका भ्याक्सिन सुरक्षित रहेको पुष्टि भएको छ । यसैकारण, अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी)ले गर्भवती र स्तनपान गराइरहेका महिलाले खोप लगाउन सक्ने गरी स्वीकृति दिएको छ । पछिल्लो समय भएका अध्ययनले गर्भवती महिला र गर्भमा रहेको शिशुमा खोपले असर नगर्ने पुष्टि गरेपछि आमा र शिशुलाई संक्रमणबाट जोगाउन खोप लगाउने सकिने सिडिसीले जनाएको हो ।

सिडिसीले केही दिनअघि भ्याक्सिन प्रयोगका लागि स्वीकृति दिएको हो । सिडिसीले सबै गर्भवती महिलालाई खोप लगाउन आग्रहसमेत गरेको छ । यस्तै, पछिल्लो समय देखिएको डेल्टा भेरियन्टले गर्भवती र शिशुमा असर गर्न सक्ने हुँदा सुरक्षित हुन भ्याक्सिन लगाउन सिडिसीले अनुरोध गरेको छ ।

अमेरिकासहित १८ देशमा यसअघि नै गर्भवती महिलामा कोभिडविरुद्धको भ्याक्सिन प्रयोग भइरहेको छ । खोप निर्माण भइसकेपछि सुरुवाती चरणमा भ्यक्सिनले गर्भवतीलाई असर गर्न सक्ने भन्दै प्रयोगमा रोक लगाएको थियो । विभिन्न अध्ययनले सुरक्षित देखाए पनि अन्य देशहरूमा भ्याक्सिन लगाउन भने सुरु गरेका थिएन ।

अमेरिकामा २३ प्रतिशत गर्भवती र स्तनपान गराएका महिलाले लगाए भ्याक्सिन

अमेरिकामा अहिलेसम्म जम्मा २३ प्रतिशत गर्भवती र स्तनपान गराइरहेका महिलाले कोभिड विरुद्धको भ्याक्सिन लगाएका छन् । पछिल्लो समय गर्भवतीमा पनि संक्रमण बढ्दै गएकाले अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरिएको छ । गर्भावस्थामा स्वास्थ्य स्थिति संवेदनशील हुने भएकाले संक्रमणको जोखिम उच्च रहन्छ । पछिल्लो समय फैलिएका डेल्टा भेरियन्ट अझै बढी संक्रामक भएकाले गर्भवतीका लागि खोप निकै राम्रो हुने विज्ञहरूले बताएका छन् ।

पछिल्ला केही अध्ययनले कोभिड संक्रमणका कारण गर्भवतीमा प्रि–इक्लेम्पसियाकोे (गर्भवतीमा देखिने रक्तचापजन्य समस्या) जोखिम बढाएको देखाएको छ । योसँगै शरीरमा अन्य लक्षण नदेखिएका व्यक्तिहरूमा समेत बच्चा छिटो जन्मिने वा गर्भमै बच्चाको मृत्यु हुने सम्भावना बढ्न सक्ने बताइएको छ ।

संक्रमण गम्भीर भएमा गर्भावस्थाको मधुमेह वा कम तौलको बच्चा जन्मिन सक्नेसमेत जोखिम रहेको विज्ञहरूले बताएका छन् । एकदमै दुर्लभ अवस्थामा, भाइरस भ्रूणमा प्रसारित गर्न सक्नेसमेत देखिएको सिडिसीले जनाएको छ ।

गर्भपतनको जोखिम कम

सिडिसीका निर्देशक डा. रोसेल वालेन्स्कीले गर्भावस्थाको पहिलो २० हप्तामा एमआरएनए खोप लगाएका गर्भवतीमा गर्भपतनको जोखिम नरहेको बताएका छन् । दुई हजार ५०० गर्भवतीमा मोर्डना र फाइजर भ्याक्सिन लगाएर गरिएको सर्वेक्षणले उनीहरूको गर्भमा कुनै असर नपरेको देखिएको उनको भनाइ छ ।

सामान्य अवस्थामा सर्भेमा सहभागी गर्भवतीमध्ये ११ देखि १६ प्रतिशतमा गर्भपतन हुने गरेको पाइयो । कोभिड भ्याक्सिनेसन पश्चात् पनि जम्मा १३ प्रतिशत मै गर्भपतन भएको पाइयो । खोप लगाउँदा गर्भवतीमा कुनै ‘साइड इफेक्ट’ नदेखिएकाले खोप गर्भवतीका लागि समेत सुरक्षित रहेको सिडिसीको दाबी छ ।

गत अप्रिलमा जर्नल अफ मेडिसिनमा प्रकाशित एक तथ्यांकले समेत खोप प्रयोगपछि सामान्य अवस्थामा जस्तै शारीरिक लक्षण देखिएको अर्थात् गर्भावस्थामा हुने जोखिमको दर परिवर्तन नआएको उल्लेख गरेको थियो । मोटोपना र मधुमेह भएका महिलामा संक्रमणको जोखिम तुलनात्मक रूपमा बढी भएकाले स्वास्थ्य अवस्था अनुसार खोप लगाउन सकिने ग्लोबल हेल्थ अर्गनाइजेसनले जनाएको छ ।

तर, खोपको क्लिनिकल ट्रायलको क्रममा गर्भवती र स्तनपान गराइरहेका महिलाहरू सहभागी नभएकाले सुरक्षाको तथ्यमा अझै अनुसन्धान गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । सिडिसीले भने भ्याक्सिनेट गरिएका महिला र बच्चाको स्वास्थ्यबारे नियमित अध्ययन गर्ने उल्लेख छ ।

नेपालमा पनि गर्भवतीलाई खोप दिन अभियान चलाउन अत्यावश्यक छः चिकित्सक

पछिल्लो समय गर्भवतीलाई कोभिड खोप लगाउने वन नलगाउने भन्ने विषयमा विश्वभरि नै व्यापक बहस भइरहेको छ । अहिले प्रयोगमा आइरहेका अधिकांश खोप उत्पादन कम्पनीले गर्भवती र स्तनपान गराइरहेका महिलामा लगाउन मिल्ने बताइसकेका छन् । योसँगै विश्वभरि १८ भन्दा बढी देशले भ्याक्सिनेसन पनि सुरु गरिसकेका छन् ।

सुरुवातीमा भ्याक्सिनले आमा र शिशुको स्वास्थ्यमा असर पार्ने भन्दै खोप नलगाएको परोपकार प्रसूति गृहका कोभिड संयोजक डा. कृतिपाल सुवेदीले बताए । ‘गर्भवतीमा कोभिड भइहालेको खण्डमा निकै जटिल हुन्छ, यसकारण पनि गर्भवतीले खोप लगाउनु अत्यावश्यक भइसकेको छ’ सुवेदी भन्छन्, ‘नेपालमा प्रयोगमा आइरहेका तीनवटै खोपले प्रयोगका लागि मान्यता दिइसकेकाले आवश्यक अनुसन्धान गरी सरकारले गर्भवतीमा पनि खोप अभियान सञ्चालन गर्नुपर्ने आवश्यक देखिन्छ ।’

नेपालमा अहिलेसम्म गर्भवती र स्तनपान गराइरहेका महिलामा खोपका लागि स्वीकृति दिएको छैन । खोप लगाउन सुरक्षित भएकाले खोप अभियान सञ्चालन गर्न स्त्री रोग विशेषज्ञको समूहले एक महिनाअघि नै स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाइसकेको छ । चिकित्सकहरूले कोभिड संक्रमणले गम्भीर असर देखिनुभन्दा भ्याक्सिन लगाउनु सुरक्षित हुने बताउँदै आएका छन् ।

नेपालमा गर्भवतीका लागि छुट्टै कार्यक्रम छैन

गर्भवती महिलाले खोप लगाउन प्रोत्साहन मिल्ने गरी नेपाल सरकारले कुनै पनि योजना ल्याएको छैन । तर, विश्वभरि नै गर्भवतीलाई खोप दिन थालेपछि स्वास्थ्य मन्त्रालयले पनि उमेरअनुसार खोप दिने गरी सूचना निकालेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए । उनी भन्छन्, ‘गर्भवतीले चाहेमा उमेरअनुसार खोप लगाउन सक्छन् ।’ खोप लगाइदिन मन्त्रालयले सूचना जारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *