अर्गाानिक कृषि उपजले भरिएको राँकेका कोशेली घरहरु
Published:
by .फिदिम । पहाडमा उत्पादन भएको कृषि उपज स्वादिलो मात्र हैन निकै रसिलो पनि हुन्छ । रसिलो कृषिउपजले तराइका मान्छेको मन जितेको छ । तराईबाट पहाड आएर घर फर्कदा पहाडको कोसेली के लैजाने ? कोसेलीको बारेमा सबैले सोच बनाएका हुन्छन् ।
अधिकांशले पहाडमा उत्पादन भएको कृषिउपज तराई झर्दा कोसेलीको रुपमा लैजाने गर्छन् । यस्तै तराई लैजाने कोसेलीको बजार हो राँके । यो बजारमा पहाडमा अर्गानिक कृषि उपजहरुलाई कोसेलीको रुपमा व्यापार गरिन्छ ।
मेची राजमार्गको सडक आसपासका पसलहरु कृषि उपजले भरिएको छ । अकबरे, नौनीघ्यू, ग्रिन टी, ललिपप, कालो दाल, छुर्पीले राँकेका कोशेली पसलहरु सजिएका छन् । कृषि उपजको व्यापारबाटै यहाँका व्यापारीले राम्रो आम्दानी गर्छन् ।
‘दैनिक २० देखि ३० हजार रुपैयाँसम्मको व्यापार हुन्छ’ व्यवसायी राजेन्द्र गौतम भन्छन् ‘कृषिउपज भन्दा अरु व्यापार गरेको छैन । तराइबाट आउने कोसेलीको रुपमा लैजाने गरेका छन् ।’ तर, अहिले कोरोनाका कारण व्यापार सुस्ताएको छ ।
यो बजारका करिब १०० पसलहरुमा लामा लामा छुर्पिका सिल झुन्ड्याएको छ । लामबद्ध मिलाएर राखिएको बट्टाहरुमा रातै अकबरे खुर्सानी छन् । डल्ला पारेर लहरै राखिएको नौनी घ्यूको पोका छन् । दालको पोका, ललिपको हार र अर्गानिक चियाको पोका प्रत्येक पसलमा भेटिनु यो बजारको पहिचान हो । पाँचथर र इलामका किसानहरुले उत्पादन गरेको कृषिउपजको कारोबारले नै राँके बजारको व्यापारलाई धानेको छ ।
मेची राजमार्ग हुँदै ताप्लेजुङको पाथीभरा मन्दिरसम्म पुगेर फर्कने यात्रुहरुले कोसेलीको रुपमा बजारमा राखिएको कृषिउपज खरिद गर्ने भएकाले राँके कोसेली बजारको रुपमा चिनिएको हो । ‘गाडीबाट आउने यात्रुहरुले घ्यू, अकबरे र छुर्पी कोशेलीको रुपमा खरिद गर्छन’ बजारमा सञ्चालित लक्ष्मी होटलका प्रोपाइटर राजकुमार नेम्बाङले भने ‘तराइबाट आउने यात्रुहरुले यो बजारलाई कोसेली बजारको नामले चिन्छन् ।’
राँके बजारका अधिकांश पसलहरुमा कृषि उपजकै मात्र कारोबार हुन्छ । यहाँ बिक्री गरिने नौनीघ्यू र अकबरेले निकै चर्चा कमाएको छ । तीन साइजका बट्टामा लगाएर अकबेर (खुर्सानी) बिक्री गरिन्छ । प्रतिबट्टा १०० देखि ३५० रुपैँयासम्ममा अकबरे बिक्री हुने व्यापारीहरु बताउँछन् ।
आकर्षक देखिने गरी पसलमा कृषि उपजहरु मिलाएर राखिएको छ । गाडीबाट यात्रा गर्नेहरुले यो बजारमा कोसेलीको रुपमा सामन खरिद गर्ने गरेका छन् । यात्रुको बाक्लो चाप हुने यो बजारमा दैनिक लाखौ रुपैँयको कृषि उपजको कारोबार हुने गरेको छ । वर्षको दुई सिजनमा यो बजारका व्यापारीले राम्रो व्यापार गर्छन् ।
फागुन महिनादेखि जेठ महिनासम्म अनि कात्तिक र मंसीर महिनामा राम्रो व्यापार हुने गरेको हो । ‘छ महिना यात्रुहरुको चाप बढ्छ’ नेम्बाङले भने ‘आन्तरिक र बाह्य पर्यटकहरुको चाप बढेको बेला यहाँको व्यापार ह्वातै बढ्ने गर्छ ।’
राँके बजार आसपासका किसानहरुले उत्पादन गरेको कृषिउपज बिक्री हुने भएकाले किसानहरुले पनि राम्रो आम्दानी लिने गरेका छन् ।
Comments