Sajhamanch Archive

माधब नेपालको साथ छाड्नेहरू एमालेमै रहलान् कि उनैलाई पछ्याउलान् ?

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । पटक–पटक अपमान र कारबाही झेलेपछि वरिष्ठ नेता माधवकुमार नेपाल एमाले केन्द्रीय कमिटीका ५८ जना सदस्य लगायतको हस्ताक्षर बोकेर एमाले (समाजवादी) दर्ता गर्न निर्वाचन आयोग पुगे। सुरुवाती चरणमा चयन भएको नाम परिवर्तन गरेर अहिले प्रस्तावित पार्टीको नाम नेकपा (एकीकृत समाजवादी) राखिएको छ। यो प्रक्रिया सुरु हुँदै गर्दा एमाले विधिगत रूपमा विभाजन भएको देखिन्छ।

पार्टीको आन्तरिक राजनीतिमा निरन्तर नेपाललाई सहयोग गरेका र पार्टी विभाजनको बाटोमा पुर्‍याउन सहयोग गरेका नेताहरूले अन्तिम समयमा उनको साथ छोडेका छन्। पार्टी दुई चिरा परिसक्दा पनि नेपाल पक्षका केही नेताहरू भने एकताको पुरानै भाषा बोलिरहेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्धको गुटबन्दीमा नेताहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, रघुजी पन्त, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले नेपाललाई साथ दिइरहेको देखिन्थ्यो। तर, अहिले उनीहरू नै नेपालसँग छैनन्।

नेपाल समूह छाडेका नेताहरूले पार्टी एकताका लागि १०बुँदे सहमति कार्यान्वयनलाई बटमलाइन बनाएका छन्। ओली पक्षले उक्त बटमलाइन कार्यान्वयन गर्ने सम्भावना निकै कम छ। माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले तत्कालै पार्टी एकताको सम्भावना नरहेकाले नेताहरू नेकपा (एकीकृत समाजवादी)मै आउने दाबी गरेकी छिन्। उनका अनुसार पछिल्लो समय छाडेका नेताहरूलाई आफूतिरै फर्काउन नेपाल समूह सक्रिय छ। यसका लागि लगातार छलफलहरू भइरहेका छन्।

‘१०बुँदे कार्यान्वयनका लागि उहाँहरूले भोलिसम्मको अल्टिमेटम दिनुभएको छ। त्यो कार्यान्वयन हुने सम्भावना छैन,’ उनले भनिन्, ‘उहाँहरूको बटमलाइनमा ओली सहमत हुने स्थिति देखिँदैन। उहाँहरू यतै आएर हस्ताक्षर गर्नुहुन्छ।’

अर्कोतर्फ विश्लेषक श्याम श्रेष्ठले सुरुमा नेपाललाई उचाल्ने र पछि एकताको भाषण गर्ने नेताहरूले चुनावलाई केन्द्रित गरेर राजनीतिक गरिरहेको बताए। उनका अनुसार अब एमाले एक हुँदैन भन्ने कुरामा ती नेताहरूसमेत प्रस्ट भइसकेका छन्।

‘उहाँहरूले यो सबै आगामी चुनावलाई फोकस गरेर यसो गरिरहनुभएको छ। उहाँहरूलाई एकता हुँदैन भन्ने थाहा छ। लाखौँको कार्यकर्तापंक्ति निराश छ,’ श्रेष्ठले भने, ‘पार्टी एकताको आधार मानिएको १० बुँदे कार्यान्वयन हुन सक्ने अवस्था छैन। ओलीको व्यवहार हेर्दा पार्टी एकताको सम्भावना ज्यादै न्यून छ। अन्ततः उहाँहरू माधव नेपालसँगै फर्कनुहुन्छ।’

करिब साढे पाँच महिनापछिको विलखबन्दबाट गुज्रिएपछि एमाले भयो। फागुन २३ मा आएको सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपा विभाजन गरिदिएपछि एमाले ब्युँतियो। एमाले ब्युँतिएपछि वरिष्ठ नेता नेपाल र पार्टी अध्यक्ष ओलीबीचको मतभेद फेरि उत्कर्षमा आयो। पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि विवाद मिलाउन नेपाल पक्षबाट पाँच र ओली पक्षबाट पाँच गरी दश सदस्यीय समिति गठन भयो।

तर, पछिल्लो पाँच महिनामा नेपाललगायत उनी पक्षका नेताहरूलाई अध्यक्ष ओलीले चारपटकसम्म कारबाही गरिसकेका छन्। प्रधानमन्त्रीबाट हटेपछि ओलीले बालकोटको बार्दलीमा पुगेर नेपाललाई ‘अपराधी’ भन्दै अब उनीसँग एकता हुन नसक्ने घोषणासमेत गरेका थिए। अहिले समूहमा नरहेका नेपालकै सारथि नेताहरू १० बुँदेमै अल्झिएका छन्। यो सहमतिलाई कार्यान्वयन गरेर एमालेलाई फुट्न दिन नहुने उनीहरूको मत छ। तत्कालका लागि नेता नेपाललाई छाडेजस्तो देखिए पनि ती नेताहरू केही समयपछि नेपाल समूहमै फर्कने राजनीतिक विश्लेषक हरि रोकाले बताए।

अहिले नेपाललाई छाडेका नेताहरूले एमालेमा हैसियत नपाउने भएकाले अन्ततः नेपालकै समूहमा फर्कने उनको विश्लेषण छ। ‘एमालेभित्र ओलीको भन्दा माधव नेपालको योगदान बढी छ। संगठनमा पनि बलियो पकड छ। उहाँहरू माधव नेपाल पक्षमा फर्किने सम्भावना बढी छ,’ उनले भने, ‘यदि उहाँहरू ओली नेतृत्वको एमालेमा बस्ने हो भने उहाँहरूको हैसियत तेस्रो तहको हुन्छ।’

विश्लेषक रोका विगतमा पार्टी विभाजनको पीडा भोगेकाले नेताहरू तत्काल नेपाल समूहमा जान हिच्किचाइएको बताँउछन्। ‘एमालेको विभाजनपछि हिजो साथ दिँदै आएका नेताहरूले नेपाललाई साथ नदिनु पार्टी विभाजनका कारण विगतमा भोग्नुपरेको पीडा एउटा हुन सक्छ,’ रोकाले भने, ‘विभाजन दिगो हुँदैन। माधव नेपाल व्यक्ति मात्र होइन, संस्था हो।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *