निर्वाचनको ७ महिनापछि बचत संघले गर्यो सपथ र पद हस्तान्तरण
Published:
by .झापा । जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको नवनिर्वाचित नेतृत्वलाई आज सपथग्रहण गराउँदै पद हस्तान्तरण गरिएको छ । गत माघ महिनामा नै सर्वसम्मत चयन गरिएको नयाँ नेतृत्वको सपथ ग्रहण विनियम संशोधन र कोरोना कहरका कारण ७ महिना पछि धकेलिएको संघले जनाएको छ ।
२०६८ साल साउन २२ गते दर्ता भई १ कार्यकाल तदर्थ रहेर ४ वर्षका २ कार्यकाल सफल नेतृत्व गरी अध्यक्ष घनश्याम अधिकारीले आजदेखि तुलाराम न्यौपानेलाई पद हस्तान्तरण गरेका हुन् । प्रदेश १ का सहकारी रजिष्ट्रार बलाराम निरौलाको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न कार्यक्रमका बीच संघको माइन्युटसहित दर्ता प्रमाणपत्रहरु हस्तान्तरण गरिएको हो ।
बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको संयोजकत्वमा गठित निर्वाचन समितिको तर्फबाट दाहालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको नाम घोषणा गरेका थिए । संघको नवनिर्वाचितहरुको नाम घोषणा पछि सपथग्रहण, अविरजात्रा र प्रमाणपत्र प्रदान गरेर नेतृत्व हस्तान्तरण गरिएको छ ।
आजदेखि जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको अध्यक्षमा तुलाराम न्यौपाने, वरिष्ठ उपाध्यक्षमा उपेन्द्रप्रसाद ओली, उपाध्यक्षमा विश्वेश्वरप्रसाद भट्टराई र चन्द्राकुमारी खड्का भट्टराई सर्वसम्मत भएका हुन् ।
बचत संघको सचिवमा यामकुमार चुडाल, सहसचिवमा कमलकुमार घिमिरे र कोषाध्यक्षमा गोविन्द पौडेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुशिला रिजाल, कृष्णप्रसाद पोखरेल, दिपक शिवाकोटी, हिमालयप्रकाश कन्दङवा, देविका निरौला बस्नेत, गोकुल न्यौपाने, बिनोद ढकाल र बालकृष्ण गौतम सर्वसम्मत भएका छन् ।
संघको लेखा सुपरीवेक्षण समिति संयोजकमा रेवती खनाल तथा सदस्यहरुमा राजेन्द्रप्रसाद रिजाल र त्रिलोचन गौतम सर्वसम्मत चयन भएको घोषणा गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सहकारी रजिष्ट्रार निरौलाले सहकारीको कारोबारमा झापा अग्रणी रहेको जनाउँदै प्रदेश १ का ठूला सहकारीहरुमा सघन अनुगमन सुरु गरिएको जनाए । प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय मातहत हाल एक हजार ४२ वटा सहकारी रहेकोमा ५२० वटा सहकारीहरु सम्पर्कमा नरहेको अवगत गराउँदै रजिष्ट्रार निरौलाले यस्ता सम्पर्कमा नरहेका संस्थाहरुमध्ये झापामा पनि धेरैवटा रहेको उनको भनाई छ ।
प्रदेश रजिष्ट्रारको कार्यालयले सहकारीहरुको नियमन, प्रवर्धन र प्रशिक्षणको एकीकृत अभियान सञ्चालन गरिरहेको बताउँदै उनले पछिल्लो समयमा सहकारीहरुको सघन अनुगमन र नियमित अनुगमन भइरहेको जानकारी दिए ।
संघका अध्यक्ष घनश्याम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले आफ्नो नौ वर्षे कार्यकालमा भए गरेका कामको विवरण सुनाए । नेफ्स्कोनसँगको साझेदारीमा जिल्लामा धेरैवटा कार्यक्रमहरु सम्पादन गरी संघलाई नेपालकै उदाहरणीय बनाइएको दावी गर्दै अध्यक्ष अधिकारीले नयाँ नेतृत्वले पनि रचनात्मक काम गर्न सफल होस् भनी शुभकामना ब्यक्त गरे ।
कार्यक्रममा प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगालले संघको श्रीवृद्धिका लागि साकोसहरुबीच सघनरुपमा छलफल गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । देशकै नमूना जिल्ला बचत संघलाई अझ उदाहरणीय कार्य गर्न तथा आर्थिक एवम् प्राविधिक रुपमा सक्षम बनाउन नयाँ नेतृत्व सक्षम बनोस् भनी शुभकामना ब्यक्त गरे ।
निवर्तमान संचालक कृष्ण तिवारीले आमन्त्रितहरुलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका निवर्तमान सचिव लीलाप्रसाद भण्डारीले गरेका थिए ।
Comments