मेचीनगरले ५८ किलोमिटर ‘इलेक्ट्रो फेन्सिङ’ गर्ने
Published: (Updated: )
by .मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि विद्युतीय तारवार (इलेक्ट्रो फेन्सिङ) निर्माण गर्ने भएकोे छ । चारआली वन खण्डदेखि मागुरमाडी वन मुल खण्डसम्मको ५७ दशमलव ७ किलोमिटरमा इलेक्ट्रो फेन्सिङ गर्ने तयारी भएको हो ।
आज मेचीनगर नगरपालिकाको सभाकक्षमा सम्पन्न अन्तरसंवादबाट उक्त प्रयास थालिएको हो । मानव हात्ती द्वन्द्व व्यवस्थापन लागि भएको अन्तरसम्वादमा प्रदेशसभा सदस्य, राष्ट्रिय प्रकृति संरक्षण कोष, मेचीनगर तथा बुद्घशान्ति गाउँपालिकाका जनप्रतिनिधिहरु, डिभिजन वन कार्यालय झापा, कोषका प्रतिनिधि, नगरभित्र रहेका विभिन्न सामुदायिक वन, नेपाली सेना तथा सरोकारवाला निकायबीच छलफल भएको छ ।
हाललाई नगरभित्रका अधिकांश सामुदायिक वनलाई समेट्ने गरी निर्माण हुने इलेक्ट्रो फेन्सिङले आगामी दिनमा तेलपानी सामुदायिक वनलाई समेत समेट्ने जनाइएको छ । चारआली वन खण्डदेखि मागुरमाडी वन मूल खण्डसम्मको ६ दशमलव ३४ किलोमिटर र मागुरमाडी वन मूल खण्डको ५१ दशमलव ३६ किलोमिटरमा तारवार निर्माण हुने भएको हो । क्रमागत बजेट अनुसार वन मन्त्रालयको हाल ३ करोड रुपैयाँबाट राष्ट्रिय प्रकृति संरक्षण कोषले कामको थालनी गर्ने जनाइएको छ ।
मेचीनगर नगरपालिका र यस क्षेत्रका सांसदहरुको लामो प्रयास पछि ‘इलेक्ट्रो फेन्सिङ निर्माण कार्य शुरु गर्न लागिएको हो । छलफलमा इलेक्ट्रोनिक फेन्सिङ विस्तृत परियोजना प्रतिवेदन डीपीआरको तयारीमा लाग्न सबैपक्ष सकारात्मक देखिएका छन् ।
मेचीनगर नगरपालिकाको पहलमा राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा इलेक्ट्रो फेन्सिङ विद्युतीय तारबार गर्नका लागि क्षेत्र निर्धारणका लागि स्ट्रिङ इञ्जिनियरिङ्ग प्रालिले विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने छ । डीपीआरका विषयमा सम्बन्धित सरोकारवालाहरुसँग भएको अन्तरक्रिया र सुझावलाई समेत समेटेर विस्तृत डीपीआर तयार गर्ने र यसका लागि आवश्यक सहयोग स्थानीय सरोकारवालाबाट पुर्याउने निर्णय भएको छ ।
योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार भए लगत्तै यसै वर्षभित्र ठेक्का प्रक्रियाबाट काम शुरु गरिने छ । मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्यको अध्यक्षतामा भएको छलफलमा स्थानीय सरकार, यसक्षेत्रका सांसदहरुको निक्कै लामो पहलमा योजना शुरु गर्न लागिएको बताइएको छ । नगरप्रमुख आचार्यले पछिल्लो समय मेचीनगरबासी जंगली हात्तीको चपेटामा परेकाले मेचीनगरसहित जिल्लामा देखिएको जंगली हात्तीको आतंक दीर्घकालिन समाधानमा सबैपक्ष लाग्नुपर्नेमा जोडदिए ।
उनले जंगली हात्तीको क्षति न्यूनीकरण गर्न जिल्लाका विभिन्न स्थानमा गरिएको ‘इलेक्ट्रो फेन्सिङ उदाहरण दिँदैं यसले जंगली हात्तीबाट हुने क्षति न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो । यो योजनालाई सफल बनाउन हरेक क्षेत्र लाग्नसमेत नगरप्रमुख आचार्यले आग्रह गरेका छन् । उनले यो डीपीआरलाई तेलपानी सामुदायिक वनसम्म पुर्याउने लक्ष्य लिइएको जानकारी पनि गराए । वनसँग जोडिएका बस्ती बढी प्रभावित भएकाले वनको समेत संरक्षण हुने गरी इलेक्ट्रो फेन्सिङ गर्ने उनको भनाई छ ।
छलफलमा सहभागीलाई शब्दद्वारा स्वागत र कार्यक्रमको औचित्य माथि प्रकाश पादैं नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेतीले जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलेक्ट्रो फेन्सिङ नै उत्तम उपाय रहेको जिकिर गरिन् ।
जंगलमा आहारा नपाएपछि आहाराको खोजीमा जंगली हात्ती गाउँमा पसेर आतंक मच्चाउँदैं घरमा भण्डारण गरेको अन्नपात खाएर नष्ट पार्ने गरेको प्रदेशसभा सदस्य गोपालचन्द्र बुडाथोकीको भनाई छ । जंगली हात्तीले मच्चाएको उपद्रो नियन्त्रणका लागि इलामको जिर्मले–३ दुधेदेखि झापाको मेचीनगर–६ सम्म १८ किलोमिटर दूरीमा विद्युतीय तारबार निर्माण गर्नुअघि नेपाल छिरेका हात्ती फर्कन नपाएको उनको भनाई छ । तिनै रैथाने हात्तीले रातभर स्थानीयलाई दुःख दिने गरेको प्रदेशसभा सदस्य बुडाथोकीको भनाई छ । उनले पछिल्लो समय इलेक्ट्रो फेन्सिङकै कारण मानिसको मृत्यु भएको घटना बढिरहेकाले तारबारको उचित व्यवस्थापनमा जोड दिए ।
बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले परियोजनका बारेमा जानकारी गराए । अहिले फिल्डको स्थलगत अवलोकन गर्ने, कहाँबाट कसरी शुरु गर्ने लगायतका विषयमा बताउँदैं उनले तत्कालै रुट निश्चित भए तत्कालै सर्वेको काम थाल्ने जानकारी गराए ।
दुईवटा टोली बनाएर काम शुरुगर्ने उनको भनाई छ । एउटा वडाबाट अर्काे वडा वा एउटा वनबाट अर्काे सामुदायिक वनमा पुग्दा सम्बन्धित वडाका जनप्रतिनिधि र वनका पदाधिकारीहरले सहयोग गर्नेसमेत उनको आग्रह छ । समुदायमा आधारित मानव द्वन्द्व व्यवस्थापन परियोजना अन्तर्गत तारबार निर्माण गरिएको भएपनि दशक अघिदेखिको जंगली हात्तीको पीडा ज्यूँका त्यूँ रहेको छलफलमा सहभागीहरुले गुनासो गरेका थिए । हात्ती आहाराको खोजीमा गाउँ पस्ने गरेको भन्दैं सहभागीहरुले हात्तीको खाद्यन्न केरा तथा बाँस जंगलमै रोप्नुपर्ने सहभागीको भनाई छ ।
छलफलमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, बुद्घशान्ति गाउँपालिका उपाध्यक्ष मीरा भुर्तेल, डिभिजन वन कार्यालय झापाका प्रमुख वन अधिकृत युवराज मास्के, सहायक वन अधिकृत राजन राई, राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अनिल प्रसाई, सर्भेयर सञ्जय मिश्र, मेचीनगरका वडाध्यक्षहरु, मानव हात्ती द्वन्द्व व्यवस्थापन समिति बाहुनडाँगीका अध्यक्ष हरिप्रसाद उप्रेतीलगायतले आ–आफ्नो सुझाव राखेका थिए ।
छलफल कार्यक्रमको सञ्चालन नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले गरेका थिए ।
Comments