कनकाईमा बंगाली समुदायले गर्यो मनसादेवीको पूजाअर्चना
Published:
by .कनकाई । बंगाली समुदायले भदौ महिनाको पहिलो पञ्चमी तिथीलाई विशेष पर्वका रुपमा मनाउँछन् । बंगाली समुदायको परम्परा अनुसार चतुर्थी तिथीदेखि षष्ठी तिथीसम्म तीन दिनलाई विशेष पर्वका रुपमा मनाइन्छ ।
पूजाअर्चनाका साथ भदौ महिनाको चतुर्थी, पञ्चमी र षष्ठी तिथीमा मनाइने यो पर्वलाई बंगाली समुदायले विशेष महत्वको पर्वका रुपमा लिने गरेको सो समुदायका अगुवा प्रल्हाद शाह बताउँछन् । माता मनसादेवीको विशेष पूजा अर्चना गरी यो पर्व मनाउने गरिएको शाहको बुझाई छ ।
कनकाई नगरपालिका क्षेत्रमा बसोबास गर्ने बंगाली समुदायले पनि सो विशेष पर्वको अवसरमा शुक्रबार कलश यात्राको आयोजना गरेका छन् । कनकाई नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरियाले रिबन काटेर कलशयात्राको शुभारम्भ गरिदिएका हुन् । सुरुङ्गास्थित कालिस्थान टोलबाट कलशयात्रा शुरु गरी कनकाई माई नदीमा पुगेर जलार्पण गरी मनसादेवी मन्दिरमा ल्याई चढाइएको थियो ।
मनसादेवीको पूजा अर्चनाबाट दुःख, कष्ट सबै नाश भएर जाने र मानिसका सबै मनोकामना पूर्ण हुने विश्वास गरिएको छ । भदौ महिनाको पहिलो पञ्चमीका दिन हुने मनसादेवीको यो विशेष पूजा अर्चनाकालागि एक दिन अघि चतुर्थीका दिनदेखि नै ब्रत बस्ने चलन रहेको बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलले बताए ।
यो पर्वमा बंगाली समुदायका महिलामात्र होइन पुरुषहरुले समेत ब्रत बस्ने र मनसादेवीको विशेष पूजा अर्चना गरी रातभर जाग्रम बस्ने चलन रहेको बंगाली समाज कनकाईका अध्यक्ष मण्डलले जानकारी दिए । दिनभर ब्रत बसेका ब्रतालुहरुले चामलको पिठोबाट घिउमा पकाइएको विशेष परिकार (घाटरा पिठा) साथै फलफूलहरु प्रसादको रुपमा खाने चलन रहेको बताइएको छ ।
षष्टीका दिन बिहान बली पूजा गरेर चेलीबेटी, भान्जाभान्जी, आफन्त, साथीभाइलाई बोलाएर प्रसाद खुवाउने परम्परा रहेको सेवा समिति कनकाईका सचिव रविन मण्डलको भनाई छ । सोही दिन बेलुका मनसादेवीको मुर्ति नदीमा लगेर बिसर्जन गरेपछि यो पर्व समाप्त हुने गरेको बताइन्छ ।
२२ वर्ष अघि नै आफ्नो समुदायको संस्कृति साथै भेषभुषाको संरक्षण गर्ने उद्देश्यले बंगाली समुदाय संगठित भएपनि निस्क्रिय रहेकोले समिति पुनर्गठन गरिएको हो । युवा व्यवसायी पंकज मण्डलको संयोजकत्वमा कनकाईमा ११ सदसस्यीय नयाँ समिति गठन भई सामाजिक क्षेत्रमा गतिविधी गर्दै आएको जनाइएको छ ।
Comments