Sajhamanch Archive

नेजा अध्यक्ष पन्त गृहनगरमा सम्मानित

Published: in राष्ट्रिय समाचार by .

दमक । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले नेपाल–अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुदीपराज पन्तलाई सम्मान गरेको छ ।

यूनियनले आज दमकमा एक कार्यक्रमकाबीच अध्यक्ष पन्तलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।

पन्तलाई कार्यक्रमका प्रमुख अतिथि गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष दिपेन्द्र थापाले सम्मान पत्रले सम्मानित गरिदिएका हुन् ।

दमक निवासी पन्त अमेरिका गएर पनि नेपाली पत्रकारिताको विकासमा क्रियाशील रहँदै नेजाको अध्यक्षमा निर्वाचित हुँदा दमक र झापालीको शान र प्रतिष्ठा बढेकाले उनलाई सम्मान गरेको प्रेस यूनियन क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाले बताएका छन् ।

सम्मान ग्रहण पछि बोल्दै नेजा अध्यक्ष पन्तले आफूहरु अमेरिकामा रहेपनि पत्रकारिता भने नेपाली समाजकै गरिरहेको बताए । उनले नेपाललाई समृद्ध र विकसित बनाउन तथा अमेरिकामा रहेका नेपालीहरुलाई पहिचान दिलाउने बाटोमा आफूहरु कलम चलाइरहेको पनि जिकिर गरे ।

पत्रकारहरुले प्रभावहीन भएर आफ्नो कलम चलाउनुपर्नेमा जोड दिदै पन्तले अमेरिकामा रहेका पत्रकारहरुले नेपाल र अमेरिकामा बसोबास गर्ने नेपालीहरुबीच पारिवारिक सम्बन्ध जस्तै कानूनी सम्बन्ध पनि विकास गराउन चाहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि दिपेन्द्र थापाले पूर्वाग्रही नभई खबरदारी पत्रकारिता गर्न आग्रह गरे । उनले नयाँ ऐन, नियम, कानून अनुसार जनप्रतिनिधिहरु चयन भएर आएकाले उनीहरुलाई खबरदारी गर्दै समाजलाई विकासको बाटोमा अघि बढाउने जिम्मेवारी पत्रकारको काँधमा रहेको प्रष्ट पारे ।

नयाँ पुस्ताको पत्रकारिता प्रभावित हुन खोजेजस्तो आभाष हुन थालेकाले पत्रकारिताको आचारसंहिता र यसको धर्मलाई मर्न दिन नहुनेमा उपाध्यक्ष थापाको जोड थियो ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश सदस्य विमल लामिछाने, प्रेस सेन्टरका जिल्ला अध्यक्ष टीकाराम उप्रेती, समाजसेवी चैतन्य बराल, जीवनचक्र समाजका अध्यक्ष गणेश गौतमलगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *