Sajhamanch Archive

कर्णाली साकोसले सुरु गर्यो क्युआर स्क्यान पे

Published: in अर्थतन्त्र, समाज, सहकारी by .

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्था (साकोस) डिजिटल कारोबारमा प्रवेश गरेको छ ।

संस्थाले आफ्नो वित्तीय कारोबारलाई डिजिटलाइज्ड गर्दै मोवाइल बैंकिङ पछि क्युआर कोड स्क्यान पे सुरुवात गरेको हो । संस्थाले भदौ १७ गतेदेखि फोन पे, इ–सेवा र इन्फो डेभलपर्ससँगको सहकार्यमा क्युआर कोड स्क्यान पे प्रयोगमा ल्याएको हो ।

संस्था सञ्चालक समितिका अध्यक्ष टसबहादुर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद खरेल र सदस्य गणेशप्रसाद पराजुलीको उपस्थितिमा मुख्य कार्यालयका विभागीय प्रमुखहरुले क्युआर कोड लन्चिङ एण्ड टेस्टिङ गरेको हो ।

सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष श्रेष्ठले आफ्ना सदस्यहरुको वित्तीय कारोबारलाई डिजिटलाज्ड र सहज बनाउन अत्याधुनिक प्रविधि भित्राइएको बताए । अब कर्णाली साकोसले गर्ने वित्तीय कारोबारमा पारदर्शिता एवम् सेवामा थप सहजता सदस्यले पाउनेमा आफू ढुक्क रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।

क्युआर कोड लन्चिङ एण्ड टेस्टिङ कार्यक्रममा संस्थाका उपाध्यक्ष खरेलले कर्णाली साकोसको २० वर्षे उमेरमा समय काल अनुसार नयाँ नयाँ प्रविधिको प्रयोग गर्दै सधै अगाडि बढेकै कारण आज जिल्लाको तेस्रो ठूलो बनेको बताए ।

यस्तै सञ्चालक समितिका सदस्य पराजुलीले आधुनिक युगका उपभोक्ता बन्नका लागि क्युआर कोड स्क्यान पे अवलम्बन गर्नु आवश्यक भइसकेकोले कर्णाली साकोसले पनि प्रविधिलाई आत्मसाथ गरेको बताए । संस्थाले सदस्यको सुविधाका लागि नयाँ प्रविधि भित्राउँदै निकट भविष्यमा नै एटिएम सेवा सञ्चालन समेतको सोच बनाइएको जानकारी दिए ।

संस्थाका लेखा विभाग प्रमुख डिल्ली बस्नेतले कर्णालीका सदस्यले पैसाको बिटो बोकेर सुरक्षा चुनौतीका बीचमा हिंडडुल गर्नुपर्ने बाध्यताको अन्त्य गरेको बताए ।

संस्थाको आइटी विभागका तारानाथ सेढाईं र विपुल गौतमले नयाँ प्रविधिका बारेमा जानकारी गराउँदै यसका प्रयोगकर्ताले सामान खरिद गरिसकेपछि कसरी रकम भुक्तानी गर्छन् भन्ने प्रयोगात्मक अभ्यास गरेर देखाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *