Sajhamanch Archive

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

Published: in खेलकुद, by .

काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको छ । दशरथ रंगशालामा आज भएको खेलमा भारतका लागि फारुख चौधरी र कप्तान सुनील क्षेत्रीले गोल गरेका हुन् ।

नेपालका लागि तेज तामाङले एक गोल फर्काए । तेजले नेपालका लागि यो पहिलो गोल गरेका हुन् । ६२औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाए । सुनिल क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरे ।

उनी दोस्रो हाफमा विपिन सिंहको स्थानमा मैदान प्रवेश गरेका थिए । ८०औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले सोलो गोल गर्दै अग्रता दोब्बर पारे । भारतको डी बक्सबाहिर नेपालले फ्रि–किक पाएको थियो । सुजल श्रेष्ठले प्रहार गरेको फ्रि–किक भारतीय गोल किपरले रोकेपछि सुनीलले त्यही बल लिएर काउन्टर अट्याकमा गोल गरेका हुन् ।

८६औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गर्दै गोल अन्तर कम गरे । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।

नेपालले पहिलो हाफमा गोल गर्ने दुई राम्रो अवसर गुमाएको थियो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले पहिलो खेल खेलेको टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले सुमन अर्याल, अन्जन विष्ट र नवयुग श्रेष्ठको स्थानमा सुजल श्रेष्ठ, मनिष डाँगी र आशिष लामालाई पहिलो रोजाइमा खेलाएका थिए ।

तर मनिष र आशिषले पहिलो हाफमा गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । १४औं मिनेटमा मनिषले पेनाल्टी एरिया भित्र वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । यस्तै २७औं मिनेटमा आयुष घलानको लामो क्रसमा आशिषले सिक्स यार्ड बक्सबाट बललाई कनेक्ट गर्न सकेनन् ।

भारतका तर्फबाट ४१औं मिनेटमा विपिन सिंहले क्रस गरेको बल नेपालका गौतम श्रेष्ठले क्लियर गरेका थिए । पहिलो हाफ सकिनु दुई मिनेटअघि अलमुताइरीले आशिष र सुमन लामाको स्थानमा विशाल राई र अन्जन विष्टलाई मैदान पठाएका थिए ।

७४औं मिनेटमा मनिष डाँगीले अन्जन विष्टको पासमा गोल गर्ने अवसर गुमाए । ८६औं मिनेटमा नेपालका लागि दुई खेलाडीले डेब्यु गरे । गोलकिपर विशाल श्रेष्ठले यसै खेलमा सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका कप्तान किरण चेम्जोङलाई रिप्लेस गर्दै डेब्यु गरे । यस्तै राजन गुरुङ मनिष डाँगीको स्थानमा मैदान प्रवेश गरे ।

भारतका रहिम अली मैत्रीपूर्ण खेलका म्यान अफ दि सिरिज बनेका छन् । उनले नगद १ लाख पाए । रहिमले नेपाल विरुद्ध पहिलो खेलमा भारतका लागि डेब्यु गरेका थिए । यस्तै खेलको म्यान अफ दि म्याच भारतका अनिरुध थापा भए ।

दोस्रो खेलमा नेपालको तर्फबाट तेज तामाङ बेस्ट प्लेअर घोषित भए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *