महासंघद्वारा हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेतालाई अवार्ड प्रदान
Published:
by .काठमाडौं । नेपाल हस्तकला महासंघले हस्तकला डिजाइनिङ प्रतियोगितका बिजेता घोषणा गरी अवार्ड प्रदान गरेको छ । हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवर्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाईनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल)द्वारा प्रतियोगिता सम्पन्न गरिएको हो ।
प्रतियोगितामा रविना श्रेष्ठ, रोशन ठाकुर र निलिमा प्रधान क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । विजेतारूलाई नगद पुरस्कारका साथै इन्टेरियर डिजाइनिङ हस्तकला अवार्डबाट सम्मानित गरिएको छ । आज आइतबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच सस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अवार्ड प्रदान गरेका हुन् ।
हस्तकला वर्ष २०२१ का संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यका अनुसार प्रतियोगिताका लागि स्टार मार्वल एण्ड सेनेटरी तथा ग्लोवल आइएमइ बैंकको सहयोग रहेको थियो । सो कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी र ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याललगायतको उपस्थिति थियो ।
हस्तकलाको ब्यवसायिक संरक्षण र प्रवर्धनका लागि महासंघ र आइडिया नेपालबीच गत महिना सहकार्य गर्ने सझौता भएको थियो । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीबीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना गरिएको र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले जानकारी दिइन् ।
नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवर्धनात्मक अभियानअनुसार नै दुवै संस्थाबीच सहकार्यका लागि उक्त सझौता भएको होे । यस्ता कार्यक्रमहरूले विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पुर्याउने महासंघको अपेक्षा रहेको छ ।
आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकलाको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनःजीवन दिन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको बताइएको छ ।
Comments