कमलनगर जेसीजले गर्यो उदाहरणीय कार्य
Published:
by .कमल । हिजोआज मान्छेको मृत्यु पछि सो परिवारमा समवेदना लिएर जानु सामान्यजस्तै भइसकेको छ । त्यसमा पनि अलि नाम चलेको व्यक्ति रहेछ भने कसले पहिले लैजाने भनेर होडबाजी नै चलेको देखिन्छ ।
शुक्रबार बिहान झापाको कमल गाउँपालिका वडा नं. १ स्थित भिमबहादुर मगरको घरमा पनि समवेदना दिनेको निकै भिड लाग्यो । तर भिमबहादुर न त कुनै राजनीतिक दलका नेता वा कार्यकर्ता हुन् न त कुनै संघ–संस्थामा आवद्ध नै छन् ।
उनी सामाजिक कार्यकर्ता पनि होइनन् तर आफ्ना छोराको मृत्युमा समवेदना दिन आएका मान्छे देख्दा उनी आफैं छक्क परेको सुनाउँछन् ।
करिब दुई वर्षदेखि उनका एक मात्र छोरा अभिषेक मगरलाई क्यान्सर भएको थियो । क्यान्सरले थप संक्रमण नगरोस् भनेर अभिषेकको हात काटिएको थियो तर ६ दिन अघि क्यान्सरकै कारण उनको मृत्यु भएको थियो ।
र, समवेदना लिएर कमल नगर जेसीजको टोली मगरको घरमा उपस्थित भएको थियो । छोराको मृत्युको शोकमा रहेको भिमबहादुरको परिवारलाई १० हजार रुपैयाँ राहत प्रदान गर्दै कमल नगर जेसीज वर्ष २०१८ का अध्यक्ष केदार कटुवालले बुहारी रोशनीले अध्ययन गर्ने खर्च आफूहरुले व्यहोर्ने घोषणा गरे ।
एकातिर आर्थिक अवस्था अत्यन्तै कमजोर भएको र अर्कोतिर क्यान्सरजस्तो घातक रोगले सताएपछि गत वर्षदेखि अभिषेकले अध्ययनको शिलशिला बन्द गरेका थिए ।
रोगले गाँजेको अभिषेकको यस्तो अवस्था देखेर पनि उनलाई साहारा दिन तीन महिना अगाडि रोशनीले अभिषेकसँग विवाह गरेकी थिइन् । आफूले मन पराएर विवाह गरेको व्यक्तिको तीन महिना नबित्तै मृत्यु भएका कारण रोशनी अहिले बोल्नसमेत सकिरहेकी छैनन् ।
अभिषेकले आर्थिक अभावका कारण पढ्न नपाएको कुरा जानकारी पाएका कमल नगर जेसीज वर्ष २०१८ का अध्यक्ष कटुवालले अभिषेकको अध्ययन खर्च सम्पूर्ण आफूले व्यहोर्ने तयारी गरिरहेको थिएँ भनेका छन् ।
कमल गाउँपालिका वडा नम्बर १ का अध्यक्षसमेत रहेका कटुवालले भने ‘अभिषेकको असामयिक मृत्यु भएकोले उनको अध्ययनका लागि छुट्याएको रकम अब उनकी नवविवाहिता पत्नी रोशनी मगरको अध्ययनमा खर्च गरिनेछ ।’
सामाजिक संघ–संस्थामा लागेर यस्तो समाजकै उदाहरणीय काम गरेकोमा कमलनगर जेसीज परिवारलाई भिमबहादुर मगरले गहभरि आँशू छचल्क्याउँदै आभार प्रकट गरे ।
‘छोरो त बाँचेन नै, अब यही बुहारी हाम्रो सहारा हो, यसले राम्रो पढेर समाजको इज्जत राख्ने बनाउन तपाईंहरुको माया र सद्भाव रहिरहोस्’ उनले भनेका छन् ।
Comments