Sajhamanch Archive

नेपाल आयुर्वेद औषधी उत्पादक संघमा नयाँ नेतृत्व

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by .

काठमाडौँ । नेपाल आयुर्वेद औषधी उत्पादक संघको नेतृत्वमा युवा पुस्ताले बाजी मारेको छ । पाँच कार्यकाल अध्यक्षको नेतृत्व सम्हाल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने निर्णय गरेसँगै संघको नेतृत्व युवा पुस्तामा आएको हो ।

नेपाली जडिबुटीजन्य आयुर्वेद औषधीको उत्पादनमा अग्रणी भूमिका खेल्दै आएको संघमा मानबहादुर साउदको अध्यक्षतामा नयाँ नेतृत्व पाएको हो । संघको उपाध्यक्षद्वयमा डा. खेमराज भट्टराई र चन्द्रकान्त खनाल, महासचिवमा सुमनप्रसाद पाण्डेय, सचिवमा पिताम्बर आचार्य, कोषाध्यक्षमा महेन्द्रराज बज्राचार्य एवम् सहकोषाध्यक्षमा डा. सुमन पौडेल रहेको युवादस्ता निर्विरोधरुपमा चयन गरेको छ ।

१३ सदस्यीय कार्यसमितिमा शम्भु अग्रवाल, बुद्धिमान शाक्य, शिवराम थापा, सूर्यकृष्ण श्रेष्ठ, अर्जुन पौडेल र विनोद अधिकारी सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

पछिल्लो समय अर्बौँ रुपैंयाँको आयुर्वेद औषधी उत्पादन गर्ने हैसियत बनाउन सफल संघको नेतृत्व प्रत्येक दुई वर्षमा परिवर्तन गर्ने संघको विधान अनुसार नयाँ कार्यसमितिमा जोशिला युवाहरुको वर्चश्व कायम भएको हो । यसअघि साउद संघको उपाध्यक्ष, पाण्डेय महासचिव, खनाल सचिव र बज्राचार्य कोषाध्यक्ष थिए ।

उपाध्यक्ष भट्टराई र सचिव आचार्य संघको पदाधिकारीका रुपमा नयाँ अनुहार हुन् । त्यस्तै सदस्यहरुमासमेत केही नयाँ अनुहारलाई मौका दिइएको छ । अधिकांश पदाधिकारी र सदस्यहरु युवा छन् । उनीहरुमा उद्योग सञ्चालनको कुशल अनुभव, जोश र जाँगरले आगामी दिन आयुर्वेद औषधी उत्पादनले थप उचाइ लिने विश्वास गरिएको छ ।

डा. नारायणप्रसाद अर्याल संयोजक रहेको निर्वाचन मण्डलका सदस्यद्वय शिव ज्ञवाली तथा सुरज भट्टराईले निर्वाचनका सम्पूर्ण विधि प्रक्रियाहरु पूरा गरेर नयाँ कार्यसमितिका सदस्यहरु निर्वाचित भएको जानकारी दिए । सदस्यद्वय ज्ञवाली र भट्टराईले औषधी उत्पादनका क्षेत्रमा संलग्न सबै मिलेर आफ्ना हक अधिकार प्राप्तिका लागि अगाडि बढ्न सबैलाई सुझाएका थिए ।

लामो समय संघको अध्यक्षमा रहेर आयुर्वेद उत्पादनका क्षेत्रमासमेत महत्वपूर्ण भूमिका खेल्दै आएका निवर्तमान अध्यक्ष विनोद पौडेलले भावुक हुँदै भने, ‘‘मैले दुःखले संघलाई यो ठाउँमा ल्याएँ । हिजो र आजको दिन फरक छ । अब अर्बौँको आयुर्वेद औषधी उत्पादन गर्ने र बिक्री वितरण गर्ने ठाउँमा आएको संघलाई बचाउने जिम्मेवारी तपाईं युवामा समर्पित गरेको छु । तपाईंहरु फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ । मैले संघलाई घाटामा होइन, नाफामा ल्याएर तपाईंहरुलाई सुम्पेको छु । मेरो भूमिका पक्कै पनि सकारात्मक नै रह्यो होला ।’’

विसं. २०५९ सालमा स्थापना भएको संघले १९ वर्षे कार्यकालमा युवा नेतृत्व पाएको स्मरण गराउँदै संस्थापक अध्यक्ष डा. नारायणप्रसाद अर्यालले नयाँ कार्यसमितिमा युवाको प्रवेश आफैँमा सन्तोषजनक भएकोले संघले अझ सशक्त भूमिका निभाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्वाचत भएलगत्तै नवनिर्वाचित अध्यक्ष साउदले पछिल्लो परिवेशमा आयुर्वेद औषधी उत्पादनका क्षेत्रमा अत्याधिक चुनौती रहेको र आफूहरुले त्यो सामना गर्ने दाबी गरे ।

कार्यक्रममा नवनिर्वाचित महासचिव पाण्डेयले उद्योगको महत्व दर्शाउँदै ‘धन कमाउन व्यापार गर, इज्जत पाउन समाज सेवा गर, धर्म कमाउन दान गर, ती सबै कुराहरु पाउनलाई उद्योग गर’ भन्ने भनाईलाई पुष्टि गर्न पनि उद्योगको महत्व रहेको जिकिर गरे ।

वरिष्ठ आयुर्वेद चिकित्सक एवं सिंहदरबार वैद्यखाना विकास समितिका अध्यक्ष डा. बाबुराजा अमात्यले आयुर्वेद औषधी उत्पादकहरुको सहभागिताले यस क्षेत्रमा सकारात्मक सन्देश दिएको भन्दै समस्याका बीच नै काम गर्दै अगाडि बढ्नुपर्ने बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *