प्रदेश १ सरकारका आजका निर्णयहरु दूरगामी तर खर्चालु
Published:
by .विराटनगर । प्रदेश– १ सरकारको मन्त्रिपरिषदको बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा आज बसेको छ ।
बैठकले सार्वजनिक सेवा गुणस्तरीय एवम् प्रभावकारी बनाउने तथा सार्वजनिक सेवा प्रवाह व्यवस्थित गर्न १४ वटै जिल्लामा कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ।
कार्यालयका सेवा प्रवाहलाई व्यवस्थित गर्न प्रत्येक जिल्लामा एकीकृत संगठन संरचना तयार गरी सेवा प्रवाह गर्ने निर्णय गरेको मन्त्री लक्ष्मण तिवारीले जानकारी दिएका छन् । प्रदेशभरका कृषकहरुको सहजताका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहने गरी एकीकृत संगठन संरचना तयार गर्ने निर्णय भएको हो ।
यस्तै बैठकले सामाजिक विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण तिवारीले जनाए ।
उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत १४ वटै जिल्लाका पूर्वाधार विकास कार्यालयहरु स्थापना गर्ने पनि निर्णय भएको छ । सो अन्तर्गत सडक, शहरी विकास, झोलुङ्गे पूल तथा पक्की पूल लगायतका काम पर्छन् ।
यस्तै खानेपानी, सिंचाईं, उर्जा, जलस्रोत लगायत विषयका काम कारवाहीलाई प्रभावकारी बनाउन १४ वटै जिल्लामा खानेपानी तथा जलस्रोत व्यवस्थापन कार्यालयको स्थापना गर्ने निर्णय गरिएको छ ।
यसअघि मन्त्रिपरिषदको बैठकले यातायात व्यवस्था र मालपोत कार्यालयको गुणस्तरीय सेवा प्रभावका लागि अनलाइन प्रणालीमा सेवा प्रदान गर्ने निर्णय गरिसकेको छ । जनतालाई घर दैलोमा गुणस्तरीय सेवा प्रवाह गर्ने कामलाई प्रदेश सरकारले उच्च प्राथामिकतामा राखेको मन्त्री तिवारीको भनाई छ ।
जिल्लापिच्छे विभिन्न कार्यालयहरु थप गर्ने प्रदेश मन्त्रिपरिषदको निर्णयले दूरगामी प्रभाव पार्ने भएपनि खर्चालु हुने र प्रदेशले खर्च धान्न नसक्ने भनी विपक्षी दलले तत्कालै टिप्पणी गरेका छन् ।
Comments