थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले पूर्वी पहाडका बस्तुको बजारीकरणमा सहयोग गर्ने
Published:
by .इलाम । इलाम, पाँचथर र ताप्लेजुङका सहकारीहरु बीच सहकारीका सदस्यहरुको उत्पादन, प्रशोधन र बजारीकरणको विद्यमान अवस्थाका बारेमा बुधबार इलाममा अन्तरक्रियात्मक गोष्ठी गरिएको छ । नवस्थापित प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ लिमिटेड झापाको आयोजनामा सो अन्तरक्रिया गरिएको हो ।
सो गोष्ठीमा सहकारी संस्था र तिनका सदस्यहरुले उत्पादन गरेको बस्तुहरुको बजारीकरणको विद्यमान अवस्थाका बारेमा छलफल भएको थियो । पूर्वमा बस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा महत्वपूर्ण कार्य गर्न सकिन्छ भन्ने ध्येयले स्थापित थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले के कस्तो सहयोग गर्यो भने सर्वपक्षीय हीत हुन्छ भन्ने विषयमा सहकारी संघ–संस्थाबाट राय लिन र सोही अनुसार भावी कार्यक्रम बनाउन उक्त कार्यक्रम गरिएको जनाइएको छ ।
राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी बैंक लिमिटेड इलाम र फिदिम शाखासँगको सहकार्यमा सो गोष्ठी सञ्चालन गरेको हो । गोष्ठीमा विभिन्न सहकारी संस्थाका सञ्चालक, कर्मचारी तथा प्रतिनिधिहरुले आफ्ना समस्या सुनाउँदै थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघले हामीलाई कसरी सहयोग गर्छ भनी जिज्ञासा राखेका थिए ।
उक्त कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैँक लिमिटेडका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेल, राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक महेन्द्रकुमार गिरी, नेफ्स्कुनका पूर्व कार्यकारी प्रमुख कुबेर निरौला लगायतले थोक उपभोक्ता विशिष्टिकृत संघले अघि सारेको कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।
पाँचथर र इलामका सहकारीकर्मीहरुको उपस्थितिमा सम्पन्न अन्तरक्रियामा बोल्दै प्रदेश १ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघका सञ्चालक प्रेम सापकोटाले सहकारीका सदस्यहरुको उत्पादनलाई व्यवस्थित तरिकाले बजारसम्म पुर्याउन र बाहिरको नाफाभन्दा सदस्यहरुलाई बढी नाफा उपलब्ध गराउन संस्था खोलिएको जनाए ।
उनले सो संघमार्फत् बस्तुको बिक्री गरेमा बजारको अभाव नहुने, खरिद र बिक्री गर्नमा सदस्यहरुलाई सजिलो बनाउने विश्वास पनि दिलाए । सो प्रयोजनका लागि व्यवसायिक संस्था दर्ता गरिसकेको र सबै संघ–संस्थालाई आवद्ध हुन सञ्चालक सापकोटाले अपीलसमेत गरेका थिए ।
सो कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेड इलाम शाखाले इलाम जिल्लामा कार्यक्षेत्र रहेका उत्कृष्ट २ वटा सहकारीलाई सम्मान गरेको थियो । कार्यक्रमलाई मनोज लामिछानेले सहजीकरण गरेका थिए ।
Comments