कांग्रेसको बिर्तामोड नगरसभापति सिटौला कि संग्रौला, कसको पल्ला भारी
Published: (Updated: )
by .बिर्तामोड । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको चौधौं महाधिवेशनले यतिबेला गाउँ नगरदेखि मुलुक नै गर्मिएको छ । अस्ति भदौ २७ का लागि निर्धारित गाउँ नगरको अधिवेशन असोज ९ मा सारिएपछि उम्मेदवारहरुको खर्च बढेको छ भने गुट र प्यानलमा विभाजित उम्मेदवारहरुले मतदाता रिझाउन अनेकन तिकडम गरिरहेको सुन्न पाइन्छ ।
आम चुनावमा रुखको शितल छहारी दिन्छौं भनेर सर्वसाधारण मतदाता आकर्षित गर्दै आएको कांग्रेस भित्र आन्तरिक लोकतन्त्रको नाममा गुट र उपगुटमा कार्यकर्ताहरु विभाजित छन् । पार्टी सभापति शेरबहादुर देउवा आफैं एउटा गुटको नेता बनेका छन् । आफ्नै सभापतित्वमा थप एक कार्यकाल पार्टी चलाउने ध्याउन्नमा रहेका देउवाले गाउँस्तरसम्म नै संस्थापन गुट चलाएका छन् ।
यस्तै, उपसभापतिहरु रामचन्द्र पौडेल र बिमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका पनि तलसम्म गुटले चलखेल गर्छन् । यही कारण चालू महाधिवेशनबाट कांग्रेसको आन्तरिक लोकतन्त्र सँगसँगै भावी दिनमा फुटपरस्त राजनीति नहोला ! भन्न सकिन्न । आजसम्म सभापतिका ५ जना उम्मेदवार, महामन्त्रीका ३ जना उम्मेदवार त घोषणा गरेरै सडकमा आइसके । महाधिवेशनसम्म अरु कति थपिने हुन्, यसै भन्न सक्ने स्थिति छैन । यसले पार्टीको आन्तरिक जीवन बलियो बन्छ कि ? शक्तिशाली पार्टी छिन्नभिन्न हुन्छ, भविष्यकै गर्भमा छ ।
माथिकै सिको गरेर महाधिवेशन अन्तरगत आसन्न गाउँ/नगर समितिमा पनि गुट गुटको प्यानल बनेको छ । स्थानीय तहको निर्वाचनको सम्मुखमा हुँदै गरेको महाधिवेशनमा पार्टीका सक्रिय सदस्यहरु गुटमा बाँडिएपछि यसको असर पछिसम्म रहने निश्चितै छ । तर पनि प्यानलै उम्मेदवारी घोषणा भई नै रहेको पाइन्छ ।
झापाको मुख्य ब्यापारिक केन्द्र तथा पार्टीको जिल्ला कार्यालय रहेको बिर्तामोड नगरमा पनि नेतृत्वका लागि कांग्रेसले दुईपक्षीय प्रतिष्पर्धा गर्ने भएको छ । शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला खेमाबाट बिर्तामोडका दुईजना वडाध्यक्ष मैदानमा उत्रिएका छन् । संस्थापन पक्ष (देउवाखेमा)बाट वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला र सिटौलाको प्यानलबाट उनका साख्खै भतिज वडा नं. ३ का वडाध्यक्ष भोजराज सिटौलाले प्रतिष्पर्धा गर्ने निश्चित भएको छ । उनीहरुले प्यानल नै बनाएर चुनावी मैदानमा ओर्लिएका हुन् । वर्तमान नगर सभापति भोजराज सिटौलाले तेस्रो कार्यकालको लागि उम्मेदवारी दिने भएपछि दुईपक्षीय भिडन्त पक्का भएको हो ।
संग्रौलाले नेतृत्व गरेको प्यानलमा उपसभापति बलराम कार्की र पशुपति राजवंशी रहेका छन् भने सचिवमा दिपेन्द्र राउत र अच्युत दाहाल । यस्तै सहसचिवमा धर्मेन्द्र सिटौला र अमोद दाहाल रहेको सिङ्गो टिम मतदाता सामु भोट माग्दै नगरमा घुमिरहेका छन् ।
नगर सभापतिका उम्मेदवार कुलप्रसाद संग्रौला पार्टीका इमानदार तथा कुशल कार्यकर्ताको रुपमा परिचित छन् । पार्टीका पूर्वसभापति स्वर्गीय कृष्णप्रसाद भट्टराईको हातबाट २०४८ सालमा क्रियाशील सदस्यता लिएको बताउने संग्रौला २०४८ सालमै सर्वसम्मत क्षेत्रीय प्रतिनिधि हुँदै पार्टीको आठौँँ महाधिवेशनमा पाँचथर जिल्ला क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा चयन भएका थिए । पार्टीको नगरसभापतिमा तपाईंको उम्मेदवारी किन ? भन्ने साझामञ्चको जिज्ञासामा उनले भनेका छन्, ‘गुटको राजनीति अन्त्यका लागि नयाँ नेतृत्व निर्माण गर्दै १४औँ महाधिवेशनबाट आफू नगर सभापति बन्ने र कार्यकर्ताको हक र हितमा रहेर काम गर्ने उद्देश्यले उम्मेदवार बनेको हुँ ।’
‘नेपाली कांग्रेसको सदस्य हुनुको गर्व हरेक कार्यकर्ता, समर्थक एवम् शुभचिन्तकहरुलाई महसुस गराउने प्रतिवद्धता जाहेर गरेको छु’ उनले भनेका छन्, ‘नेतृत्वले यो अभियानलाई अगाडि बढाइरहँदा कोही कसैप्रति लक्षित नभएको तथा पार्टीमा हावी गलत प्रवृत्तिको अन्त्य गर्न, शुद्धिकरण र सुदृढीकरण गर्ने उद्देश्यका लागि मात्र निर्वाचनमा होमिएको छु ।’
संग्रौलाले निर्वाचनमा होमिइरहँदा विगतदेखि नै पार्टीमा हावी भएको एउटै व्यक्तिले एउटै पदमा पटक–पटक जिम्मेवारी लिने प्रवृत्तिको अन्त्य गर्ने र एक व्यक्ति एक पद, एक व्यक्ति एक कार्यकालको सिद्धान्तलाई अक्षरशः पालना गर्ने नारा दिएका छन् । बिर्तामोड नगर मूलतः औद्योगिक एवम् व्यवसायिक क्षेत्र भएकाले यहाँका अग्रज उद्यमी व्यवसायीहरुको सल्लाहकार समिति बनाएर उनीहरुकै सुझावलाई ग्रहण गर्दै पार्टी सञ्चालन गर्ने कार्ययोजना अगाडि सारेका छन् ।
वर्तमान नगर सभापति सिटौला युवाहरुका ढुकढुकी हुन् । अबको कांग्रेस युवाको काँधमा भन्ने नारा अगाडि सारिरहेको समयमा प्रतिष्पर्धी उम्मेदवारभन्दा उनी युवा हुन् । उनको प्यानलबाट उपसभापति पदमा वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवा र पूर्व नगरसचिव राजकुमार राजवंशी उम्मेदवार बनेका छन् । यस्तै सचिवमा उत्तम खनाल र दिवाकर प्रसाई उम्मेदवार छन् भने सहसचिवमा रमेश चौधरी र दिनेश पराजुलीले उम्मेदवारी दिने पक्का भएको छ ।
‘बलियो, मजवुत, गुट रहित नेपाली कांग्रेसको परिकल्पना’ नारा दिएर उम्मेदवार बनेका सिटौला प्यानलले आगामी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउने अठोट लिएको छ । पार्टीमा समान सहभागिता एवम् समावेशितालाई ध्यान दिइने उल्लेख गरिएको प्रतिवद्धता अन्तरगत पार्टीको नगर कार्यालय भवन निर्माण गर्ने, युवा तथा खेलकुदको क्षेत्रमा विकास गर्ने, आम नगरबासीको सुखदुःखमा साथ दिने उल्लेख छ ।
भेजराज आफैंमा स्थानीयबासी, युवा व्यक्तित्व, खेलाडी अनि नगरभित्रका सुपरिचित उम्मेदवार हुन् । उनको उम्मेदवारीप्रति राष्ट्रिय सभाका पूर्व सांसद, कांग्रेसका सादगी एवम् इमानदार नेता डिल्ली सिटौलाका छोरा हुनाको नाताले पनि सकारात्मक प्रभाव छाड्ने विश्वास गरिन्छ । यद्यपी आफ्नै वडामा कतिपय युवालाई साथ लिन–दिन नसक्दा उनलाई असहयोग हुने सम्भावना पनि उत्तिकै रहेको कांग्रेसजनमा चर्चा हुने गरेको छ ।
पार्टी स्रोतका अनुसार बिर्तामोड नगरबाट क्षेत्रीय प्रतिनिधिमा २७७ जना विजयी भएका छन् । उनीहरुको मतबाट नगर समिति निर्वाचित हुनेछ । यी क्षेत्रीय प्रतिनिधिमध्ये ६६ प्रतिशतभन्दा बढीले आफूलाई मतदान गरी पुनः एक कार्यकाल सभापति बनाउनेमा सिटौला ढुक्क छन् । पार्टीमा होलटाइमर कार्यकर्ता भएर काम गरिरहेका सिटौलाले एक कार्यकाल नगर सभापति रही ५ वर्ष काम गरेको अनुभव र कतिपय बाँकी कामहरु सम्पादन गर्नका लागि दोस्रो कार्यकालका लागि सभापतिको उम्मेदवार बनेको बताएका छन् ।
बिर्तामोड नगर समितिको सभापति हुनु भनेको आसन्न स्थानीय तहको चुनावमा उम्मेदवार चयन गर्ने मुख्य गौंडो पनि हो । त्यसैले यसका पछाडि धेरैजनाको साथ, समर्थन र भरोसा हुने गर्दछ । दुई प्रतिष्पर्धी मध्ये सिटौलालाई पार्टीका जिम्मेवार नेताहरु तथा शहीद परिवारको साथ रहेको बताउँछन् । यता संग्रौलालाई बिर्तामोडका भरोसायोग्य समाजसेवी जलकुमार गुरुङको साथ रहेको प्रष्ट देखिन्छ । जति मत बढ्छ, त्यो संग्रौलाको कारणले नभई गुरुङको ओजनले बढ्ने हो, उनकै पक्षमा खुलेर मत मागिरहेका एकजना क्षेत्रीय प्रतिनिधिको भनाई छ । यस्तै, कांग्रेसका हस्ति गोपालकुमार बस्नेत, टोरुप प्रसाईहरु देउवा खेमाका उम्मेदवारको जीत चाहान्छन् ।
(नोटः यो समाचार प्रकाशन भएपछि पढेर धन्यवाद दिनुहुँदै नगर सभापतिका उम्मेदवार कूलप्रसाद संग्रौलाले आफू कुनै गुटको उम्मेदवार नभएको दावी गर्नुभएको छ । म सबै नेतालाई उत्तिकै आदर र सम्मान गर्छु, म कुनै गुटको नभई साझा उम्मेदवार रहेकोले समाचार सच्याई दिन उहाँको आग्रह छ । सोही आग्रहअनुसार समाचार कै अन्तिममा नोट राखेर उहाँको आग्रह सार्वजनिक गरिएको छ । र, डिजिटल प्रविधिका प्रकाशनमा यो एउटा प्रयोगकै रुपमा विकास गर्न सकिने अवस्था बनेको छ । –सम्पादक)
Comments