इलाममा कांग्रेस महाधिवेशनः को कहाँबाट उम्मेदवार ? स्थानीय तहसम्म केन्द्रीय गुटको प्रभाव !
Published: (Updated: )
by .इलाम । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि इलामका १० वटै पालिकाकाका ८१ वडामा घोषित मितिमै अधिवेशन सम्पन्न गरेका छन् । कतै छिटफुट चुनावी प्रक्रियामार्फत नेतृत्व चयन भए पनि अधिकांश वडाहरुमा सर्वसम्मत प्रतिनिधि र कार्य समितिहरु चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ ।
२७ भदौमा तोकिएको गाउँ तथा नगरपालिकाको अधिवेशन करिव १५ दिन पछि असोज ९ गतेलाई धकेलिएपछि निर्वाचनमा होमिएका उम्मेदवारहरुले आफ्नो प्रचार अभियानलाई खँदिलो बनाएका छन् ।
पार्टी केन्द्रमा रहेको गुटको प्रभाव इलाममा स्थानीय तहसम्म देखापरेको कारण वडा तहदेखि नै गुटले प्रश्रय पाएको छ । परिणामतः सबै पालिकामा संस्थापन र संस्थापन इतर चुनावी प्रचार प्रसारमा जुटेका छन् ।
जिल्ला सभापतिमा चारजनाको उम्मेदवारीः
नेपाली कांग्रेसको इलाम जिल्ला सभापतिमा चारजना भिड्ने देखिएका छन् । वर्तमान सभापति हिमालय कर्माचार्य, भेषराज आचार्य, केशव थापा र डम्बर खड्काले १४औँ महाधिवेशनमा इलामको सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ती मध्ये डम्बर खड्काले भने पत्रकार सम्मेलन नै गरेर आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।
दुई क्षेत्रीय सभापतिका लागि ६ जना मैदानमाः
दुईवटा संघीय निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्रीय सभापतिका लागि ६ जनाले उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा उत्रिएका छन् । क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा दुर्गा बराल, शमशेर राई र भिष्म प्रधान चुनावी मैदानमा देखिँदा क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इदिङ्गो, नूतनदेव दुलाल र मनबहादुर बुढाथोकीले उम्मेदवारी घोषणा गरेका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरु यतिखेर गाँउ नगरमा क्षेत्रीय प्रतिनिधिहरु रिझाउन व्यस्त छन् ।
४ प्रदेश क्षेत्रीय सभापतिका लागि १६ जना मैदानमाः
प्रदेशसभा निर्वाचन क्षेत्रमा पनि नेताहरूले उम्मेदवारी घोषणा गरेका छन् । क्षेत्र नं. १ ‘क’को सभापतिमा रमेशचन्द्र सुवेदी र मिलन क्षेत्रीले उम्मेदवारी घोषणा गरेका छन् ।
क्षेत्र नं. १ ‘ख’को सभापतिमा निष्कल राई, मोहनबहादुर बस्नेत र श्याम कार्कीले दाबी गरेका छन् ।
क्षेत्र नं. २ ‘क’को सभापतिमा गोपाल चौहान, राजेन्द्र बास्तोला र श्याम श्रेष्ठ मैदानमा देखिएका छन् भने क्षेत्र नं. २ ‘ख’को सभापतिमा खगेन्द्र योङहाङ ‘राजु’, पम्फा पुलामी, राजन खनाल, पदम मेवा, सुवास आङथोपो, लक्ष्मण राई, उपेन्द्र पौडेल र कमलबहादुर कार्की उम्मेदवार बन्ने ध्याउन्नमा छन् ।
पालिका सभापतिमा को-को भिड्दै ?
इलाम सदरमुकाम रहेको सबैभन्दा जेठो इलाम नगरपालिकामा सभापतिमा ५ जनाले उम्मेदारी घोषणा गरेका छन् । यहाँ सोमनाथ सुसेली, तीर्थराज गुरुङ, लीलाप्रसाद थापा, अमृतलाल श्रेष्ठ र निर्मल राउत चुनावी मैदानमा रहेका छन् । उम्मेदवार मध्ये सोमनाथ सुसेलीले आफू बिना लाईनको उम्मेदवार भनेर दावी गरेका छन् ।
यस्तै सूर्योदय नगर सभापतिमा सोनाम छिरिङ काजी, मणि गुरुङ, सुरेन्द्र पौडेल र जीवनकुमार नेपालको भिडन्त हुँदैछ । देउमाई नगर सभापतिमा दिलीप कार्की, कृष्ण बराल, भवानी साङपाङ राई, पदम कटुवाल चुनावी मैदानमा देखिएका छ्न् भने माई नगर सभापतिमा हेमबहादुर लिम्बू र पुष्प गिरी प्रतिष्पर्धा गर्न तम्तयार रहेका छन् ।
माङसेबुङ गाउँपालिका सभापतिमा चन्द्र साँवा र अमरकुमार राई, रोङ गाउँपालिकामा देवीप्रसाद अर्याल, हरि बुढाथोकी र सुवास स्याङ्बो पालिका सभापतिको उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका छ्न् ।
यसैगरी फाकफोकथुम गाउँपालिकामा रामकुमार श्रेष्ठ, डिगबहादुर थापा र टेकवीर नेम्वाङको सभापतिमा उम्मेदवारी घोषणा हुँदा सन्दकपुर गाउँपालिकामा तुला गुरुङ, नेत्र रिजाल र धनबहादुर खाम्दाक तथा माईजोगमाई गाउँपालिकामा नरेन्द्र देवान र वेद चापागाइँले सभापतिको उम्मेदवारी घोषणा गरेका छन् ।
१० पालिकामध्ये चुलाचुली गाउँपालिकामा मात्र सभापतिमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको कांग्रेस इलाम स्रोतले जनाएको छ । एक हजार ८०० भन्दा धेरै मतदाता रहेको इलाममा एउटै पक्षको बाहुल्यता नहुने र मिश्रित परिणाम आउने अधिवेशनलाई नजिकबाट नियालिरहेका कांग्रेसजनको बुझाई छ ।
– नयाँ बुलन्द
Comments