Sajhamanch Archive

कोभिड–१९ संक्रमित सदस्यलाई कर्णाली साकोसले दियो करिब चार लाख रुपैयाँ उपचार राहत

Published: in मुख्य समाचार, समाज, सहकारी, स्वास्थ्य by .

मेचीनगर । कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आज लघुवित्त तर्फका एकजना कोरोना संक्रमित सदस्यलाई करिब चार लाख रुपैयाँ उपचार राहत रकम प्रदान गरेको छ ।

कोभिड–१९ संक्रमण भई करिब ५ महिनादेखि उपचारत मेचीनगर–७ का सदस्य लिलाकुमारी कट्टेललाई तीन लाख ८७ हजार १०० रुपैयाँ उपचार राहत प्रदान गरिएको हो । दुईवर्ष अघिमात्र संस्थाको विशेष उपचार कोषको सदस्य बनेकी कट्टेलले जम्मा ६ हजार रुपैयाँमात्र बुझाएकी थिइन् । संस्थाले सञ्चालन गरेको विशेष उपचार कोषको नीति अनुसार उनलाई कोभिड–१९ संक्रमण भएपछि गरिएको उपचार खर्चको ४० प्रतिशत रकम हस्तान्तरण गरेको हो ।

इटाभट्टा सेवा केन्द्र अन्तरगत लघुवित्ततर्फ केन्द्र नं. १७ की सदस्य कट्टेलको उपचारमा ९ लाख ६७ हजार ७०० रुपैयाँ खर्च भएको थियो । उक्त उपचार खर्चको ४० प्रतिशतले हुन आउने रकम ३ लाख ८७ हजार १०० रुपैयाँ संस्थाको विशेष उपचार कोषबाट प्रदान गरिएको सचिव भुपाल बस्नेतले बताएका छन् ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ र कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपालचन्द्र बुढाथोकी, सञ्चालक समितिका उपाध्यक्ष ईश्वरीप्रसाद खरेल, सचिव बस्नेत तथा सदस्य जानुका न्यौपाने ओलीले बिरामी लिलाकुमारीका छोरालाई रकम हस्तान्तरण गरेका हुन् ।

राहत रकम हस्तान्तरण पछि कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले कर्णाली सहकारीले आफ्ना सदस्यको उपचारमा ठूलो आर्थिक सहयोग गरेकोमा आभार प्रकट गर्दै उनले सहकारी संस्थाले सञ्चालन गरेको यस किसिमको कार्यक्रमले अभिभावकत्व प्रदान गर्ने बताए । कोभिडको महामारीले जनजीवन अस्तव्यस्त बनेको बताउँदै प्रदेशसभा सदस्य बुढाथोकीले कोभिडलाई सामान्य रुपमा नलिन र सरकारले निर्देशन गरेको स्वास्थ्य सुरक्षा मापदण्डलाई पूर्णरुपमा पालना गर्न सुझव दिए ।

संविधान दिवसको दिन कार्यक्रम भइरहेको सन्दर्भमा सांसद बुढाथोकीले भने ‘जनताले आफ्नो हक अधिकार प्राप्तिका लागि बलिदानीपूर्ण संघर्ष गरेर प्राप्त गरेको नयाँ संविधानले आम नेपाली जनताको हक अधिकारलाई सुनिश्चित गरेको छ ।’
सांसद बुढाथोकीले संविधानले सहकारीलाई देशको तीन खम्बे अर्थतन्त्रमध्ये सहकारीलाई एउटा दर्बिलो खम्बा स्वीकारेको हुँदा यसले समाजमा रुपान्तरणकारी भूमिका निर्वाहा गर्नुपर्ने बताए ।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष श्रेष्ठले जस्तोसुकै परिस्थितिमा पनि आफ्ना सदस्यहरुलाई आर्थिक अभावका कारण उपचार पाउनबाट बञ्चित हुन नपरोस् भन्ने ध्येयले कर्णाली साकोसले विशेष उपचार कोष सञ्चालन गरेको जानकारी दिए । सबैलाई सेयर सदस्यहरुलाई सो कोषमा सहभागी बन्न अनुरोध गर्दै संस्थाका सचिव भूपाल बस्नेतले सहकारीमा सदस्य बनेर पहिलो वर्ष पाँच हजार रुपैयाँ विशेष उपचार कोषमा जम्मा गर्नुपर्ने र हरेक वर्ष एक हजार तिरेर नवीकरण गरेपछि उक्त कोषबाट उपचार राहत पाउने व्यवस्था गरेको बताए ।

संस्थाका सञ्चालक सदस्य जानुका न्यौपाने ओलीले सहकारी संस्थाले हाल उपचार खर्चको ४० प्रतिशत रकम उपलब्ध गराउने व्यवस्था गरेको र निश्चित समयपछि १० लाखसम्म उपचार खर्च दिने भएकोले सबै सदस्यहरुले निर्धक्क भएर सदस्यता लिन र विशेष उपचार कोषको सदस्य बन्न अनुरोध गरिन् ।

कर्णाली सहकारीले झापा, इलाम र मोरङमा ३८ वटा सेवाकेन्द्र स्थापना गरिसकेको छ भने ४१ हजार सेयर सदस्य रहेको जनाइएको छ । संस्थाका उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले शाब्दिक स्वागतसहित कार्यक्रमको औचित्य प्रष्ट्याएका थिए भने कार्यक्रमको सञ्चालन सचिव भुपाल बस्नेतले गरेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिकहरु खेमराज अधिकारी, श्याम घिमिरे र श्रीप्रसाद सिटौलाले संस्थाको राहत नीतिले सदस्यलाई फाइदा पुगिरहेकोले अब ५० प्रतिशत बनाउनुपर्ने सल्लाह दिएका थिए । उनीहरुले बचत किन गर्ने ? सहकारीमा नै किन बचत गर्ने ? अनि सहकारीमध्ये पनि कर्णाली साकोसमा नै किन कारोबार गर्ने ? भन्नेबारे तर्कपूर्ण भनाई राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *