Sajhamanch Archive

कमलमा तीनजना सभापतिका आकांक्षीः कसले मार्ला बाजी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, स्थानीय तह, by .

कमल । नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन अन्तरगत गाउँ नगर कार्यसमितिको चुनाव यही असोज ९ गते देशव्यापी रुपमा हुँदैछ । केन्द्रदेखि गाउँसम्मका हरेक गल्ली र चिया पसलमा अहिले कांग्रेस महाधिवेशनको चर्चा चुलिएको छ । एउटै दलभित्र गुट र उपगुट भएका कारण उम्मेदवारहरु पनि प्रसस्त छन् । काङ्ग्रेसका नवनिर्वाचित क्षेत्रीय सदस्यहरु आफ्ना आफ्ना पक्षका उम्मेदवारलाई जिताउन यतिबेला हरतरहले लागिपरेका छन् ।

झापाको कमल गाउँपालिकामा पनि काङ्ग्रेसको गाउँ कार्यसमिति चुनावले माहोल तताएको छ । गाउँ सभापतिमा उम्मेदवारी घोषणा गरेका ५ जनामध्ये यो समाचार तयार पार्दासम्म २ जनाले नजिकका उम्मेदवारलाई समर्थन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । अब कमलमा काङ्ग्रेसका तीनजना उम्मेदवारबीच गाउँ सभापतिमा कडा प्रतिष्पर्धा हुने अवस्था बनेको छ ।

गाउँ सभापतिका लागि खगेन भण्डारी, बुद्धिराज न्यौपाने र प्रमोद दाहाल मैदानमा छन् । शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्ण सिटौलाको उपसमूहमध्ये को कसको निकट छन् भन्ने कार्यकर्ताबीच छर्लङ्ग रहेपनि सञ्चारमाध्यमका अघिल्तिर उनीहरु कसैले गुट खुलाउन चाहेका छैनन् । सबै सचेत कांग्रेसका रुपमा आफूलाई उभ्याउन अग्रसर देखिएका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरेका यी तीनैजना आकांक्षीको दावी यस्तो छ ।

खगेन भण्डारी

म तत्कालिन तोपगाछी गाविस हुँदाको सभापति हुँ । राज्य पुनःसंरचना भएसँगै तत्कालिन लखनपुर गाविस मिलेर कमल गाउँपलिका बनेपछि पनि म नै सभापति भएको छु । यस्तो असहज परिस्थितिमा पनि पार्टीलाई यहाँसम्म ल्याएको छु । कमलमा पार्टीले गर्नुपर्ने धेरै काम बाँकी छन् । म सभापतिमा पुनः निर्वाचित भएपछि ती सबै काम पूरा गर्नेछु ।

पार्टी भित्र भएको गुटको अन्त्य गर्नेछु । आज पर्टीमा कृयाशिलताभन्दा पनि पैसाको बलमा नेतृत्वमा पुग्ने होडबाजी मौलाउँदै गएको छ । यसको अन्त्य हुन आवश्यक छ । हार्डवेयर र सप्टवेयर सँगसँगै विचारको राजनीतिलाई अगाडि बढाउन आवश्यक रहेकोले म यसैमा लाग्नेछु । आउने स्थानीय तहको चुनावमा पार्टीलाई जिताउनसमेत आफ्नो महत्वपूर्ण भूमिका रहनेछ ।

बुद्धिराज न्यौपाने

दशकौंदेखि पार्टीको महत्वपूर्ण जिम्वेवारी सम्हालीसकेको अनुभवका आधारमा म पार्टीको केन्द्रीय नेतृत्वप्रति असन्तुष्ट छु । अहिलेको यस्तो परिस्थतिमा यथास्थितिवादमा पार्टी नचल्ने भएकोले अब नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मेरो मान्यता हो । पार्टी भित्रको बेथिती अत्य हुनुपर्छ र पार्टीमा युवालाई नेतृत्व दिनुपर्छ ।

यसका साथै सहकार्य, सहमति र एकताका साथ अगाडि बढ्न आवश्यक रहेको छ । केन्द्रदेखि गाउँसम्म पार्टी थला परेको छ । यसलाई उपचार गरेर ठिक ठाउँमा ल्याउन मेरो उम्मेदवारी हो ।

प्रमोद दाहाल

म २०४४ सालमा विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेको हुँ । अहिलेको पार्टी नेतृत्वसँग म असन्तुष्ट छु । पुराना नेताले पार्टीलाई सही तरिकाले हाँक्न नसकेकाले आज पार्टीले क्षति व्यहोर्नु परेको हो । अब यसरी पार्टी चल्न नसक्ने भएर नै युवाले नेतृत्व लिन आवश्यक भएको हो ।

समय अनुसार युवा पुस्तामा नेतृत्व आउनु पर्छ । सधैंभरि ज्येष्ठले मात्र नेतृत्व गरेर हुँदैन । हिजोको जस्तो राजनीतिले अब देश र पार्टी चल्दैन । अब व्यक्तिभन्दा सामुहिक निर्णयबाट अगाडि बढ्न आवश्यक छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *