Sajhamanch Archive

सिम्रिक साकोसद्वारा सदस्य उपचार सुविधा, कर्जा मिनाहा तथा काजकिरिया खर्च प्रदान

Published: in मुख्य समाचार, समाज, सहकारी by .

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्ना सदस्यहरुप्रति अभिभावक सरह सदस्य उपचार राहत, काजकिरिया खर्च तथा मृतक ऋणि सदस्यको कर्जा मिनाहाजस्ता सुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

संस्थाको धुलाबारी सेवा केन्द्र अन्तरगत लघुवित्त तर्फका सदस्य जीतमाया राईको असामयिक निधन भएकोले उनले संस्थाबाट लिएको ऋणको बाँकी रकम ३ लाख ४८ हजार २१३ रुपैयाँ मिनाहा गरिएको हो ।

संस्थाका विभागीय प्रमुख विजय बस्नेत, धुलाबारी सेवा केन्द्र प्रमुखसहित कर्मचारीहरु स्वर्गीय राईको घरमा नै गएर ऋण मिनाहाको पत्रसहित काजकिरिया खर्च प्रदान गरेका हुन् ।

यसैगरी, धुलाबारी सेवा केन्द्र अन्तरगत कै अर्का सदस्य पानमती राजवंशीको निधनप्रति शोक व्यक्त गर्दै संस्थाको तर्फबाट कर्मचारीहरु स्वर्गीय राजवंशीको घरमा नै गएर ९७ हजार ९५३ रुपैयाँ ऋण मिनाहाको पत्र हस्तान्तरण गरेका छन् । संस्थाबाट राजवंशीको परिवारलाई काजकिरिया खर्च वापत १८ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व एवम् सदस्य सुविधाहरु प्रदान गर्ने क्रममा बुधबारे सेवा केन्द्र अन्तर्गतका शेयर सदस्य चित्रबहादुर राईको मुटुको शल्यक्रिया गराएकोले उपचार खर्चवापत २५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाको आईटी विभाग प्रमुख यामबहादुर बिष्ट र बुधबारे सेवाकेन्द्र प्रमुख धु्रबकुमार दवाडी तथा कर्मचारीहरु राईको घर मै पुगेर स्वास्थ्य लाभको कामनासहित राहत रकम प्रदान गरेका हुन् ।

यसैगरी धुलाबारी सेवा केन्द्र अन्तरगतका सदस्य संगीता भुजेललाई पाठेघरको शल्यक्रिया उपचार खर्च राहतवापत २५ हजार रुपैयाँ प्रदान गरिएको छ । सोही कार्यालय अन्तरगतका सदस्य धनमाया दासको हातको शल्यक्रिया गर्न २५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको कार्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *