एनएमसीको इकाईगत साधारणसभाहरु सम्पन्न, माइन्युट प्रमाणित साधारणसभा शनिबार
Published: (Updated: )
by .झापा । नेपालकै अग्रणी सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) झापाको २९औं वार्षिक साधारणसभा अन्तरगत असोज ३ गतेदेखि सुरु भएको कार्यालयगत इकाईको साधारणसभा आज सम्पन्न भएको छ ।
साधारणसभाका लागि वितरण गर्न तयार पारिएको वार्षिक प्रतिवेदन भदौ २८ गते सार्वजनिक गरेर एनएमसीले २९औं साधारणसभा प्रक्रिया सुरु गरेको थियो । संस्थाले असोज ३ गतेदेखि आज ८ गतेसम्म ४३ वटा कार्यालयमा कार्यालयगत इकाईको आधारमा साधारणसभा सम्पन्न गरेको हो ।
एनएमसीको भोलि शनिबार सम्पन्न हुने माइन्युट प्रमाणीकरण साधारणसभाका लागि प्रतिनिधि चयन गर्दै वार्षिक प्रतिवेदन माथि शेयर सदस्यले उठाएका जिज्ञासा समाधानसमेत गरेर आज बिर्तामोड इकाई लगायतको साधारणसभा सम्पन्न गरिएको हो ।
बिर्तामोड कार्यालयगत उपसमितिका संयोजक शान्ता रोक्काको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा बिर्तामोडमा इकाइगत साधारणसभा गरिएको हो ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट तयार गरिएको प्रतिवेदन सञ्चालक सदस्य खेमनाथ मिश्रले प्रस्तुत गरेका थिए । यसैगरी लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संस्थाका उपाध्यक्ष भगवती घिमिरेले प्रस्तुत गरेकी थिइन् । संस्थाको चालू आर्थिक वर्षका लागि तयार गरिएको बजेट, नीति तथा कार्यक्रमबारे बिर्ताअर्जुन क्षेत्रीय प्रमुख प्रकाश सुवेदीले प्रस्तुत गरेका थिए ।
संस्थाले प्रस्तुत गरेको सबै प्रतिवेदनमाथि उपस्थित शेयर सदस्यहरुले छलफल, प्रतिक्रिया, टिप्पणीसहित सुझाव राखेका थिए । सदस्यका महत्वपूर्ण सुझावहरुलाई भोलि सम्पन्न हुने अन्तिम साधारणसभामा प्रस्तुत गरिने बिर्तामोड कार्यालयगत उपसमितिका संयोजक शान्ता रोक्काले जनाएकी छन् ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि प्रसाईले सहकारी संस्थाको मेरुदण्डका रुपमा रहेका शेयरधनीहरुले संस्थालाई अझ उचाईमा पुर्याउन उत्कृष्ट सुझाव दिनुपर्ने आवश्यकता औंल्याएकी थिइन् । एनएमसी झापाको मात्र होइन, नेपालकै एउटा अगुवा सहकारी भएकाले यसले सञ्चालन गर्ने कार्यक्रमको सफलता वा असफलताले अरु सहकारीहरु पनि प्रभावित बन्ने उनको भनाई थियो ।
साधारणसभामा बिर्तामोड नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले एनएमसीका सदस्यहरुको भविष्य उज्जवल छ भन्दै सहकारी अभियानमा एनएमसीले खेलेको भूमिकाको प्रशंशा गरे । कोभिड–१९ संक्रमणको वर्तमान विषम परिस्थितिमा पनि एनएमसीले सदस्य र समाजप्रति पुर्याएको सहयोगको लागि उनले धन्यवाद पनि दिए ।
संस्थाको बिर्तामोड कार्यालयका प्रमुख हरिमाया ओझाले सञ्चालन गरेको साधारणसभामा उपस्थित अतिथि तथा शेयर सदस्यहरुलाई कार्यालयगत उपसमिति सदस्य गोपाल काफ्लेले शाब्दिक स्वागत गरेका थिए ।
साधारणसभामा प्रस्तुत प्रतिवेदनमा गत आर्थिक वर्षमा कारोबार गर्ने सदस्यलाई १२ प्रतिशत शेयर बोनस वितरण गर्ने, कर्मचारीको तलब १० देखि १५ प्रशित बढाउने, सहकारी पसलको वेयर हाउस निर्माणका लागि जमिन खरिद गर्ने आदि प्रस्तावहरु गरिएको छ । जसलाई ईकाईगत साधारणसभाहरुले अनुमोदन गरेको संस्थाका उपाध्यक्ष भगवती घिमिरेले बताएकी छन् ।
संस्थाको २०७८ साल असार मसान्तको शेयर पुँजी एक अर्ब ११ करोड ६० लाख ६ हजार २०० रुपैयाँ, निक्षेप आठ अर्ब ८५ करोड ४२ लाख २३ हजार ४०३ रुपैयाँ, कर्जा लगानी नौ अर्ब २४ करोड ६ लाख ४० हजार ९९४ रुपैयाँ, जगेडा कोषमा ६८ करोड र कर अघिको नाफा २७ करोड ४० लाख ६९ हजार ५४८ रुपैयाँ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने नाराका साथ सञ्चालित संस्थाले बैंकिङ, डेरी, एकीकृत नमूना कृषि फार्म, सहकारी पसल, चिया उद्योग गरी पाँच वटा व्यवसाय सञ्चालन गरेको छ । एनएमसीले अब एग्रो सपोर्ट विजनेस, प्याकेजिङ उद्योग, चामल मिल, तोरीको तेल मिलजस्ता उद्योगहरु सञ्चालन गर्ने योजना बनाएको सो अवसरमा जनाइएको छ ।
Comments