Sajhamanch Archive

दिलमाया स्मृति कप फुटबल सुरु

Published: in खेलकुद, स्थानीय तह by .

सुरुङ्गा । दिलमाया स्मृति कप फुटबल प्रतियोगिताको छनौट खेल मंगलबारदेखि सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल सुरु भएको हो ।

दुवै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी साँबाले गरेका हुन् । साँबाकी आमा दिलमायाको स्मृतिमा नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको आयोजनामा झापा क्षेत्र नम्बर ४ स्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।

कनकाई नगरपालिकाको छनौट खेल कनकाई माविको खेल मैदानमा भएको छ । सो खेलको उद्घाटनमा सांसद साँबासहित कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको गरेका थिए ।

उद्घाटनका अवसरमा बोल्दै सांसद साँवाले कोभिडका कारण थलिएको खेल क्षेत्रलाई थोरै भए पनि सहयोग पुर्याउन तथा आफ्नी दिवंगत माता दिलमायाको स्मृतिलाई ताजै राख्नका लागि प्रतियोगिताको आयोजना गरिएको बताए ।

यसैगरी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाबाट धेरै राष्ट्रिय खेलाडीहरु उत्पादन हुँदै आएको बताउँदै नगरपालिका धेरैभन्दा धेरै खेलाडीहरु उत्पादन गर्ने काममा अगाडि बढेको सुनाए ।

उद्घाटन कार्यक्रममा दिलमाया स्मृति कप मूल समितिका संयोजक तथा नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य सुनिल भेटवालले प्रतियोगिता भव्य र सभ्य बनाउन आयोजकबाट कुनै कसर बाँकी नराख्ने जानकारी दिए । उनले प्रतियोगिताको प्रथम र दोस्रो पुरस्कार २ लाख २५ हजार र १ लाख २५ हजार रुपैँया राखिएको पनि जनाए ।

नेकपा एमालेका कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले उद्घाटन कार्यक्रममा उपस्थितलाई स्वागत गरेका थिए भने कनकाई ३ नम्बर वार्डका वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया लगायतले मन्तव्य राखेका थिए ।

पहिलो खेल कनकाई वडा नं. ३ र ६ का बीच भएकोमा पूरा अवधि खेल हुन पाएन । सुरु गर्न ढिलाई भएकाले पूरा खेल सम्पन्न हुन सकेन र बाँकी खेल बुधवार दिउँसो ३ बजेका लागि सारिएको आयोजकले जनाएको छ । खेल गोल रहित बराबरी भएको थियो ।

यस्तै झापा गाउँपालिकामा भएको पहिलो दिनको छनोट खेलमा वडा नं. ५ र ७ को विजयी सुरुवात भएको छ । झापा–७ स्थित जनकल्याण माविको खेल मैदानमा संघीय सांसद एलपी सावाँ लिम्बुले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

उद्घाटन कै दिन समूह ‘ए’ अन्तरगत झापा गाउँपालिका वडा ५ र १ बीच भएको पहिलो प्रतिस्पर्धामा वडा ५ विजयी भएको छ । ५ को जितमा उपहार गोल नै निर्णायक बनेको छ । ५ नम्बरका भरत हेमरमले हानेको गोललाई रोक्न खोज्दा अमरेस राईले आफ्नै गोलपोष्टमा बल छिराए पछि वडा नम्बर ५ लक्की सावित भएको थियो । छेक्दा सो गोल पोस्टमा ठोकिएर गोलमा परिणत भएको थियो ।

त्यस्तै समूह ‘बि’ अन्तरगत भएको दोस्रो खेलमा वडा ७ ले वडा २ लाई ३–० को गोल आन्तरले पराजित गरेको छ । वडा ७ का मानबहादुर आले मगरले एक्लै २ गोल गरे भने संजय टुडुले थप १ गोल गरेका थिए ।

झापा गाउँपालिकामा रहेका ७ वडाबीच छनौट खेल हुनेछ । खेलको अन्तिम दुई स्थान हासिल गर्ने वडाले दिलमाया स्मृति कपमा हुने खेलमा सहभागी हुन पाउने प्रारम्भिक छनौट समितिका संयोजक सनित राईले जानकारी दिए ।

यसरी नै क्षेत्र नं. ४ मा रहेका प्रत्येक पालिकामा छनौट खेल हुनेछन् । कुल २८ वडामा हुने प्रारम्भिक छनौट खेलबाट दिलमाया स्मृति कपमा ८ टिम सहभागी हुन पाउने छन् । अन्तिम प्रतिष्पर्धा आउँदो कार्तिक ८ गतेदेखि ८ वटा टिमबीच शिवसताक्षीमा हुने तय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *