बालमैत्री स्थानीय तह बनाउन कम्मर कसेर लाग्यो झापाको कमल गाउँपालिका
Published:
by .कमल । कमल गाउँपालिकाले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा अभियानलाई तीब्रता दिएसँगै नागरिकको घर र पसलमा अनुरोध पत्र टाँस गर्ने अभियान सुरु गरेको छ ।
“खुशी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने नाराका साथ आगामी फागुन मसान्तसम्ममा गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषण गर्ने योजना छ । कार्यक्रमलाई सबैमाझ जानकारी दिन विभिन्न ठाउँमा अभिमुखीकरण कार्यक्रम गरिँदै आएको छ ।
बालबालिकालाई समान व्यवहार गरिनुपर्ने, पाँच वर्ष उमेर पुगेका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गराऔं, आफ्ना छोराछोरीलाई कम्तिमा पनि आधारभूत तहसम्मको शिक्षा दिलाऔं जस्ता नारा अंकित पोष्टर टाँस्ने कार्य गरिँदै आएको छ ।
यस्तै, बालमैत्री संरचनाहरुको निर्माण गरी बालमैत्री वातावरणमा शिक्षण सिकाई सन्चालन गरौं, बालमैत्री नीति नियम र आचारसंहिताको पूर्ण पालना गरौं–गराऔं, बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितामुलक अनुरोधपत्र प्रत्येक घरधुरीमा टाँस गर्ने अभियानलाई तीब्रता दिएको हो ।
पहिलो चरणमा गाउँपालिकाले विभिन्न संघ–सस्था र टोल विकास संस्थाको सहयोगमा गाउँपालिकाका प्रत्येक घरधुरीमा अनुरोधपत्र टाँसगर्ने कार्यलाई ध्यान दिएको छ ।
मंगलबार गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, वडा नं. ३ का अध्यक्ष नरप्रसाद दंगाल, महिला तथा बालबालिका शाखा प्रमुख रेनुका गौतम, सहजकर्ता सुमन ढकाल लगायत विभिन्न टोल विकास सस्थाका प्रतिनिधिहरुले पोष्टरिङ गर्ने कार्यलाई निरन्तरता दिएका थिए ।
‘बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि आवश्यक पर्ने ५१ वटा सूचकमध्ये ११ वटा सूचक पूरा भएका छन्’ गाउँपालिका अध्यक्ष मेनुका काफ्ले भन्छिन्, ‘अन्य धेरै सूचकको नजिक पुगेका छौं, सबै मिलेर कार्यक्रमलाई निरन्तता दिँदैछौ र फागुन मसान्तसम्ममा बालमैत्री घोषणा गर्न सकिने विश्वास छ ।’
गाउँपालिकाले सबैभन्दा पहिले बालमैत्री वडा घोषणा गर्ने वडालाई विकास बजेट बाट १० लाख रुपैयाँ प्रदान गर्ने जनाइएको छ । यसैगरी, बालमैत्री घोषणा गर्ने सामुदायिक विद्यालय अन्तरगत पहिलो हुनेलाई १ लाख ५० हजार, दोश्रोलाई एक लाख र तेश्रोलाई ५० हजार रुपैयाँबाट प्रोत्साहित गरिने अध्यक्ष काफ्लेले जानकारी दिइन् ।
आफ्ना छोराछोरीलाई पूर्णरुपमा बालमैत्री वातावरणमा हुर्कने अवसर प्रदान गर्न तथा २०७८ साल फागुनभित्र बालमैत्री स्थानीय शासनयुक्त कमल गाउँपालिका बनाउँदै सभ्यताको परिचय दिन सम्पूर्ण गाउँबासीसँग कमल गाउँपालिकाले अनुरोधसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले बताएका छन् ।
Comments