५ लाख नाफा गरेको बिर्तामोडको जनशक्ति सहकारीले गर्यो आधा दर्जनलाई सम्मान
Published:
by .बिर्तामोड । झापाको बिर्तामोड ४ स्थित जनशक्ति बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको छ । कोभिड–१९ को सन्त्रासका बीच पनि सदस्यहरुले उल्लेख्य कारोबार गर्दा संस्थाले सन्तोषजनक नाफा कमाउन सफल भएको संस्थाका अध्यक्ष हिमालयप्रकाश कन्दङ्वाले जानकारी दिएका छन् ।
संस्थाले शनिबार नवौं वार्षिक साधारणसभा गर्नेक्रममा अध्यक्ष कन्दङ्वाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ.व. २०७७/०७८ मा १ करोड २८ लाख ९ हजार ६११ रुपैयाँ आम्दानी गरेको र १ करोड २२ लाख १७ हजार ८२५ रुपैयाँ खर्च भई ५ लाख ९१ हजार ७८५ रुपैयाँ नाफा गरेको बताए ।
यस वर्ष संस्थाले ५ करोड ७३ लाख ५७ हजार ५४२ रुपैयाँ निक्षेप संकलन गरेको छ भने ७ करोड ७३ लाख ८६ हजार २६ रुपैयाँ ऋण लगानी गरेको छ । सदस्य संख्या ३ हजार ३९६ पुगेको छ भने शेयर पूँजी १ करोड ८४ लाख ९४ हजार ५०० पुगेको अध्यक्ष कन्दङ्वाले जानकारी दिए ।
प्रदेशसभा सदस्य पूर्णसिंह राजवंशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मणिराज दंगालले गरेका थिए भने स्वागत उपाध्यक्ष ढुण्डीराज गुरागाईंले गरेका थिए ।
प्रमुख अतिथि राजवंशी, बिर्तामोड नगरपालिका वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीएस प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्ने कार्यसूचि तय गरिएको सचिव दंगालले बताएका छन् ।
साधारणसभा उद्घाटन समारोहमा उत्कृष्ट बचतकर्ता पवित्रा विक, उत्कृष्ट ऋणी फुरछेकी खरेल, ज्येष्ठ महिला शेयर सदस्य सम्पती राजवंशी, उत्कृष्ट बाल बचतकर्ता आयुष शिवाकोटी र उत्कृष्ट कर्मचारी दिपिका लिम्बूलाई नगदसहित सम्मान गरिएको छ । संस्थाका संस्थापक सञ्चालक सदस्य हस्तबहादुर तामाङ र गोमादेवी चुँडाललाई विशेष सम्मान गरिएको थियो ।
Comments