एनएमसीमा सहकारी पसल थपिँदै : घटस्थापनादेखि बिर्तामोडमा १२औं पसल सञ्चालनमा
Published: (Updated: )
by .बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले झापाको बिर्तामोडमा सहकारी पसल सञ्चालनमा ल्याएको छ । संस्थाद्वारा सञ्चालित यो १२औं सहकारी पसल हो ।
भद्रपुररोडमा खोलिएको एनएमसी सहकारी पसलको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले पसलको मूल ढोकामा टाँगिएको रिबन काटेर तथा अतिथिहरुले १२ वटा क्यान्डल बालेर उद्घाटन गरिएको हो ।
कोपसप उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष रामचन्द्र उप्रेतीले एनएमसीको व्यवसायिक विविधिकरण बारे जानकारी गराउँदै सहकारी पसल सञ्चालनको औचित्यबारे प्रकाश पारेका थिए ।
अध्यक्ष उप्रेतीले एनएमसीले नाफा कमाउन सहकारी पसल खोलेको नभई सहकारी संस्थामा आवद्ध किसानहरुले उत्पादन गरेका स्थानीय बस्तुहरु बिक्री गर्ने स्थलका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको जानकारी दिए । किसान सदस्यहरुले उत्पादन गरेका अर्गानिक बस्तुहरु संस्थाले खरिद गरिदिने र यिनै पसलबाट उपभोक्ता सम्म पुर्याउने मूल उद्देश्य राखिएको उनको भनाई छ ।
एनएमसीका पाँचवटा व्यवसाय सुरु भइसेकेका र अब केही नयाँ गर्ने कार्ययोजना बनाइएको जानकारी गराउँदै अध्यक्ष उप्रेतीले संस्थाको वित्तीय अवस्थितिबारे संक्षेपमा जानकारी गराएका थिए ।
सो कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख शिवाकोटीले बिर्तामोडलाई विषादीरहित नगर बनाउने आफूहरुको प्रयासमा एनएमसीले ठूलो भूमिका निर्वाह गरेको बताए । एनएमसीको सहकारी पसलमा गुणस्तरीय सामग्री पाइने भएकाले उपभोक्ताले स्वास्थ्यवद्र्धक बस्तुहरु ढुक्क भएर खरिद गर्न सबैलाई आग्रह गरे ।
सहकारी पसल उद्घाटन कार्यक्रममा बिर्तामोड वडा नं. ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, सतासी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठलगायतले आ–आफ्ना धारणा राखेका थिए ।
एनएमसी बिर्ताअर्जुन क्षेत्रीय कार्यालयका प्रमुख प्रकाश सुवेदीले सञ्चालन गरेको पसल उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका सञ्चालक समिति सदस्य डम्बरबहादुर बस्नेतले गरेका थिए । एनएमसी सहकारी पलि ब्यवसाय उपसमितिका सदस्य हरिभक्त बरालले कार्यक्रममा आमन्त्रित तथा सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए ।
एनएमसी सहकारी पसलमा सबै प्रकारका सामग्री उपलव्ध हुने तथा चाडपर्व लक्षित धमाका पनि सुरु गरिएको प्रबन्धक नविन भण्डारीले जानकारी दिएका छन् । दशैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै एक हजार रुपैयाँभन्दा बढीको खरिदमा उपहार कुपन राखिएको जनाइएको छ ।
Comments