Sajhamanch Archive

कान्दुक भेट्रान फुटसलः उपाधिको लागि इलाम र दार्जिलिङ भिड्ने

Published: in खेलकुद by .

इलाम । इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिता अन्तरगत उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बीच प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबार भएको सेमीफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९–४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रह्यो ।

दार्जिलिङको जीतमा राजु तामाङ र फुर्वा तामाङले समान ३/३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे ।
आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । फाइनल प्रवेशसँगै दार्जिलिङले कम्तीमा १६ हजार रुपैयाँ सुरक्षित गरेको छ ।

त्यसैगरी दोश्रो सेमीफाइनल खेलमा इलामले सूर्योदयलाई १४–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो । इलामको जीतमा नगेन्द्र लिम्बुले ६ गोल गरे । रमेश गुरुङले ३, कप्तान दर्शन भक्तराज र सुरेन गुरुङले समान २/२ तथा प्रकाश थाम्सुहाङले १ गोल गरे ।

सूर्योदयको तर्फबाट शरण राईले सान्तवना गोल फर्काए । कान्दुक रिक्रिएन सेन्टरको फूटसल मैदानमा जारी प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैंयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा भारतका २ सहित ८ टिमको सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *