Sajhamanch Archive

सहारा नेपाल साकोसः ९३५ सदस्यलाई १,०७,४९,००० रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी by .

झापा । वित्तीय कारोबारको समष्टिगत स्वरुप वासलात तथा शेयर सदस्यका हिसाबले नेपाल कै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसले सामाजिक सुरक्षा भत्ता अन्तरगत आफ्ना सदस्यहरुलाई एक करोड सात लाख ४९ हजार रुपैयाँ वितरण गरेको छ ।

संस्थाको मुख्य कार्यालय रहेको झापाको बिर्तामोड–२ चारपानेमा आज विशेष कार्यक्रमको आयोजना गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । सो कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले विभिन्न छवटा शीर्षकमा यो वर्ष एकसाथ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको जानकारी दिए ।

कार्यकारी प्रमुख गिरीका अनुसार एकल महिला भत्ता वापत आठ हजार रुपैयाँका दरले ५९२ जनालाई ४७ लाख ३६ हजार र ५८ वर्ष पूरा गरेका १२ जना एकल पुरुषलाई छ हजार रुपैयाँका दरले ७२ हजार रुपैयाँ वितरण गरिएको छ ।

यसैगरी, संस्थामा आवद्ध ७० वर्षसम्मका ज्येष्ठ सदस्यलाई आठ हजार र ७१ वर्षदेखि ८५ वर्षसम्मका ज्येष्ठ सदस्यलाई १० हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको गिरीले बताए । यस्तै, ज्येष्ठ सदस्यहरुको दीर्घायुको कामना गर्दै ८६ वर्षदखि ९९ वर्षसम्मका सदस्यलाई २५ हजार रुपैयाँ वितरण गरिएको छ । संस्थाले यो वर्ष २४२ जना ज्येष्ठ सदस्यलाई १६ लाख ७६ हजार रुपैयाँ प्रदान गरेको जनाइएको छ ।

हौसला कार्यक्रम अन्तर्गत पूर्णरुपमा अशक्त र अपांगता भएका नौ जना सदस्यलाई जनही १० हजार रुपैयाँका दरले ९० हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, दिवंगत भएका सदस्य तथा कर्मचारीको सम्झनामा हरेक दुई–दुई वर्षमा आश्रित परिवारलाई २५ हजार रुपैयाँका दरले पाँच पटकसम्म रकम उपलब्ध गराउने संस्थाको नीति अनुरुप यो पटक ६३ जनालाई १५ लाख ७५ हजार रुपैयाँ प्रदान गरिएको संस्थाका कार्यकारी प्रमुख गिरीले कार्यक्रममा जानकारी गराए ।

संस्थाले परिवार राहत कार्यक्रम अन्तर्गत ७५ वर्ष पुगेपछि स्वयम् सदस्यलाई नै तथा सदस्यको निधन भएमा परिवारका सदस्यलाई जीवनयापनमा सहजताका लागि एक लाखदेखि पाँच लाख रुपैयाँसम्म प्रदान गर्ने नीतिगत व्यवस्था अनुसार यो वर्ष १७ जना शेयर सदस्यहरुलाई २६ लाख रुपैयाँ प्रदान गरिएको छ ।

संस्थाले आज मुख्य कार्यालय आसपासका केही सेवा केन्द्रहरुका सदस्यहरुलाई उपस्थित गराएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । यो सुविधा प्राप्त गर्न योग्य सदस्यहरुलाई सेवा केन्द्र स्तरमा पनि रकम प्रदान गरिँदै आएको जनाइएको छ । सामाजिक सुरक्षा भत्ता दशैंको संघारमा यो वर्ष ९३५ जना शेयर सदस्यहरुलाई प्रदान गरिएको कार्यकारी प्रमुख गिरीले अवगत गराएका छन् ।

सोही कार्यक्रमका बीच संस्थाका पूर्वकर्मचारी स्वर्गीय यादव बस्नेतको स्मृतिमा उनको परिवारबाट स्वर्गीय यादव बस्नेत सहारा अक्षयकोषको घोषणा गरिएको छ । अक्षयकोषको राशि १० लाख रुपैयाँ रहेको छ । उक्त अक्षयकोषमा राखिएको रकमको ब्याजबाट घातक रोग लागेर उपचार गर्न नसक्ने विपन्न परिवारका मानिसलाई आर्थिक सहयोग गर्ने कोष संस्थापकको घोषणा छ । सो अक्षयकोषमा संस्थाको तर्फबाट पनि रकम थप गरिने जनाइएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका सदस्यहरुका तर्फबाट मन्तब्य राख्दै देवराज रिजालले उक्त अक्षयकोषको उद्देश्य राम्रो भएकाले २१ सय रुपैयाँ प्रदान गर्ने घोषणा गरेसँगै कार्यक्रमका बीच आधा दर्जनजति दाताहरुले रकम प्रदान गरेका थिए ।

उक्त अवसरमा समाजमा ब्याप्त कुरिती, कुसंस्कार तोड्न प्रयत्नशील साहसी महिलाका रुपमा बिर्तामोड–८ की रेणुका नेपाललाई सम्मान गरिएको छ । गतवर्ष मंसीरमा पति दिवंगत हुँदा आर्यघाटबाट नै पतिको प्रेमको निशानी चुरा, पोतो, सिन्दुर, रातो पहिरन नखोल्ने भन्दै कुरितीका विरुद्ध आवाज उठाएकोमा एकल महिला रेणुकालाई विशेष सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

बचत तथा ऋण सहकारी संघ १ नम्बर प्रदेश समितिका अध्यक्ष तथा नेफ्स्कोनका सञ्चालक घनश्याम अधिकारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उनले आदर्श समाज निर्माण गर्न सहकारी अभियान अग्रसर रहेको बताए । वित्तीय कारोबारलाई सरलीकृत गर्नमा मात्र होइन सामुदायिक कार्य गरेर सहकारीले उल्लेखनीय योगदान गरिरहेको अधिकारीको भनाई थियो ।

आजका कतिपय कार्यहरु हेर्दा सरकारी काम पछिपछि सहकारी अघिअघिको अवस्था छ भन्दै नेफ्स्कोनका सञ्चालक अधिकारीले पेन्सन, वृद्धभत्ता, सामाजिक सुरक्षा भत्ता पाउन अब सरकारको ढोक ढक्ढक्याउनुको साटो राम्रा सहकारीको सदस्य बनेर सुविधा पाउन सकिने धारणा राखे ।

संस्थाका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले गरेका थिए भने सामाजिक सुरक्षा उपसमितिका संयोजक डिल्लीराम सिटौलाले कार्यक्रमको औचित्य प्रष्ट पार्दै आमन्त्रितहरुलाई शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *