Sajhamanch Archive

व्याडमिन्टनमा मिडिया कपको च्याम्पियन बन्यो हरप्रहर

Published: in खेलकुद by .

दमक । दमकमा सञ्चालित पाँचौ अन्तर मिडिया कप डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि दमकको हरप्रहर मिडियाले जितेको छ ।

दमक ६ स्थित दमक व्याडमिन्टन क्लबको कभर्ड हलमा आइतबार सम्पन्न प्रतियोगिताको उपाधि खेलमा हरप्रहरले बिर्तामोडको आँगन एफएमलाई हराउँदै जीत हासिल गरेको हो ।

हरप्रहरबाट सुसन राई, कविराज राई र आँगनबाट इन्द्रजित मुखिया र उमाकान्त खनाल सहभागी थिए । विजेता टिमले २१–१७, १३–१७ र २१–१७ को अन्तरले जीत हासिल गरेको हो ।

उपाधिसँगै विजेता टिमले नगद १० हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्यो भने उपविजेतामा चित्त बुझाउने आँगन एफएमको टीमले नगद ६ हजार, मेडल तथा प्रमाणपत्र पाएको थियो ।

विजेता, उपविजेता खेलाडीहरुलाई नेपाली कांग्र्रेसका नेता तथा संघीय सांसद महेन्द्रकुमारी लिम्बूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेकी थिइन् ।

नेपाल प्रेस युनियन माइपश्चिम क्षेत्रीय समितिले बडादशै, दिपावली, छैठ पर्वको अवसर पारेर बर्सेनी आयोजना गर्दै आएको खेलकुद कार्यक्रम अन्तरगत यसवर्ष अन्तरमिडिया कप डबल व्याडमिन्टन प्रतियोगिता गरिएको खेल संयोजक बिष्णु पौडेलले बताए ।

यूनियनका क्षेत्रीय समितिका अध्यक्ष बिष्णु सुब्बाको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा यूनियनका जिल्ला अध्यक्ष इन्दू पूर्वेली, नेपाल पत्रकार महासंघ प्रदेश समितिका कोषाध्यक्ष बिमल लामिछाने लगायतले बोलेका थिए ।

त्यस्तै कार्यक्रममा महासंघका जिल्ला सचिव डिकेश लामा, संघीय प्रेस नेपालका उपाध्यक्ष कमन देवान, संघीय लिम्बूवान पत्रकार संघका अध्यक्ष दिलकुमार लावती, नारी सञ्चार गृह झापाकी सचिव भूमिका सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

दमक व्याडमिन्टन क्लबको व्यवस्थापनमा सम्पन्न सो प्रतियोगितामा दमकसहित झापाका १४ वटा सञ्चार संस्थाले भाग लिएका थिए । कार्यक्रमको सञ्चालन यूनियनका जिल्ला उपसभापति गिरीराज भट्टराईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *