इटहरी उपमहानगरको ताजा निर्णयः बाढी पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने
Published:
by .इटहरी । इटहरी उपमहानगरपालिकाको आकस्मिक कार्यपालिका बैठकले बाढी पीडितको राहत र उद्धारमा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको छ ।
कार्यपालिकाको आज भएको आकस्मिक बैठकले उपमहानगर पालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले सात दिनको पारिश्रमिक विपद राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगरस्तरीय विपद ब्यवस्थापन समितिका सदस्य सचिव पुष्प चौधरीले जानकारी दिएका छन् । यसैबीच, नगरप्रमुख द्वारिकलाल चौधरीले चाहिँ एक महिनाको पारिश्रमिक जम्मा गर्ने घोषणा गरेका छन् ।
कार्यपालिकाको बैठकले बाढीका कारण इटहरीमा ज्यान गुमाउनेका परिवारलाई किरिया खर्च वापत २५ हजार उपलब्ध गराउने पनि निर्णय गरेको छ । यसैगरी वडाहरुमा पीडितका लागि लत्ता कपडा र मेस सञ्चालन गर्न सबै वडालाई एक लाख रुपैयाँका दरले पेश्की उपलब्ध गराइने भएको छ ।
बाढीले भत्काएको बाटो, कल्भर्ट तत्काल मर्मत गरिने भएको छ । बैठकद्वारा उद्धार तथा राहत कार्यमा जुट्न सम्पूर्णमा आग्रह पनि गरिएको छ ।
यसअघि दिउँसो बंैक तथा वित्तीय संस्थाहरुसँगको बैठकमा नगरप्रमुख द्वारिकलाल चौधरीले बाढी पीडितहरुका लागि सहयोग गर्न आग्रह गरेकामा उनीहरुले राहत कोषमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
Comments